जुम्लामा बाम धारभित्र विगत लामो समयदेखि टुक्रिँदै आएको राजनीतिक ऊर्जा फेरि एकठाउँ भेलिएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत ११ दलको साझा पहलमा गठन भएको नेपाली कम्युनिष्ट पार्टीको जिल्ला–स्तरीय एकता सन्देश भेला शुक्रबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
जिल्लाका अनुभवी नेतृत्वदेखि गाउँगाउँका कार्यकर्ता सम्मिलित भेलाले बाम एकतालाई संस्थागत, राजनीतिक रूपमै नयाँ मोड दिएको छ।
पार्टीका केन्द्रीय आयोजक समिति सदस्य नरेश भण्डारीले एकतालाई ‘ऐतिहासिक अनिवार्यता’का रूपमा व्याख्या गरे। उनका अनुसार मुलुक बढ्दो राजनीतिक अस्थिरता, आर्थिक सुस्तता तथा शासन व्यवस्थामाथिको जनअविश्वासका घेराभित्र छ । यी चुनौतीसँग जुध्न सक्षम शक्ति वाम धारा नै हो।
भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापनादेखि सामाजिक न्याय र समृद्धिको एजेण्डा कार्यान्वयन गर्न सक्षम राजनीतिक विकल्प नेपाली कम्युनिष्ट पार्टी नै हुने दाबी गरे।
पार्टीका केन्द्रीय सदस्य पदमबहादुर रोकायाले जुम्ला बाम राजनीतिसम्बन्धी जीवित इतिहासको भूगोल भएको स्मरण गराउँदै नवगठित नेपाली कम्युनिष्ट पार्टी कर्णालीकै पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरे।
कार्यक्रममा सहभागी अन्य नेताहरूले विगतका कटुता, अविश्वास र टुटफुटको संस्कृतिलाई अन्त्य गर्दै ‘भावनात्मक–राजनीतिक’ एकता निर्माण गर्न आग्रह गरेका छन् ।
प्रकाशित: ५ मंसिर २०८२ २१:२१ शुक्रबार





-600x400.jpg)