सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वदेशमै लगानीका उपयुक्त वातारण बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
ललितपुरमा मंगलबार समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा प्रकाशनमा ल्याइएको दश रुपैयाँको हुलाक टिकटमा टाँचा प्रदान गर्दै मन्त्री खरेलले अब देशमै पर्याप्त लगानी गर्ने वातावरण बन्दै गएको दाबी गरेका हुन् । लगानी सुनिश्चिततादेखि उद्योगी व्यवसायीहरुको सम्पूर्ण चिन्ताबारे वर्तमान सरकार जानकार रहेको उल्लेख गर्दै उनले जेनजी आन्दोलनको मर्म अनुसार वर्तमान सरकार सुशासन र भ्रष्टाचाररहित समाज निर्माणमा दृढ रहेको बताए ।
मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकार आफ्नो उद्धेश्य र लक्ष्यभन्दा बाहिर नजाने प्रतिबद्धता पनि जनाए । अब कुनै पनि उद्योगी र व्यापारीले दल र दलका नेताहरुप्रति नतमस्तक भएर लाग्नु पर्ने अवस्था नरहेको बताउँदै उनले देश निर्माणका लागि साथ दिन सबैमा अपिल गरे । सरकार फागुन २१ गते निर्वाचन गराउनेमा प्रतिबद्ध रहेको जानकारी दिँदै निर्वाचनमा सहभागी भएर उपयुक्त व्यक्ति छान्न अपिल पनि गरे । दलको पछि लागेर पाँच वर्षसम्म पछुताउनु भन्दा अहिले नै उपयुक्त व्यक्ति छानेर देश बनाउनेमा अग्रसरता लिन मन्त्री खरेलको अपिल थियो ।
समाजसेवी गोयलले शिक्षा, स्वास्थ्य, धर्मसंस्कृति, विकास निर्माणसहित सामाजिक क्षेत्रमा उल्लेख्य सेवा गरेका छन् । नेपालमा निजी क्षेत्रबाट एम्बुलेन्स खरिद गरेर सामाजिक कार्यमा परिचालन गर्ने गोयल पहिलो व्यक्ति मानिन्छ ।
प्रकाशित: ८ पुस २०८२ २०:४२ मंगलबार





