शनिबार नुवाकोटका विभिन्न पहिरोग्रस्त क्षेत्र तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गर्दै उनले अवरुद्ध सडक, खानेपानी र विद्युत् सेवा तुरुन्त पुनः सञ्चालन गराउन निर्देशन दिएका हुन्।
जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय प्रभावित बासिन्दासँगको अन्तरक्रियामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्राविधिक अध्ययनका आधारमा सरकारले तत्काल ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।
‘वडा र पालिका कार्यालयसहित विपद् अध्ययन गर्ने निकायबाट प्राप्त हुने सुझावका आधारमा निर्णय कार्यान्वयन गर्न सङ्घीय सरकार तयारी अवस्थामा छ,’ उनले भने, ‘बस्तीलाई सुरक्षित बनाउने र त्यो सम्भव नभए जोखिममा परेका परिवारलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्नेछौं।’
मन्त्री डा. तिमिल्सिनाले सूर्यगढी गाउँपालिका–१ स्थित सेमराङभिर तथा वडा नं-२ को फटपुर र पहरेथोकमा गएको पहिरोको अवलोकन गरेका थिए। सो क्रममा उनले बस्तीको जोखिम, अवरुद्ध सडक, विद्युत् सेवा र तीनवटा पालिकामा आपूर्ति हुँदै आएको ड्वाचे खानेपानी आयोजनाको पाइपलाइनमा पुगेको क्षतिको अवस्थाबारे जानकारी लिए।
यसैगरी, सूर्यगढी–२ कै रातमाटे र राम्चेमा सडक माथिबाट तथा देविथानमा सडक तलबाट खसेको पहिरोले पूर्वाधारमा पुर्याएको क्षतिको समेत निरीक्षण गरिएको छ।
ड्वाचे खानेपानी र विद्युत् पुनःसञ्चालनमा चुनौती देखिएकाले मन्त्री डा. तिमिल्सिनाले सडकको अवरोध हटाई आवश्यकताअनुसार वैकल्पिक व्यवस्था मिलाउन प्राविधिक टोलीलाई निर्देशन दिए।
स्थलगत अवलोकन टोलीमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, सडक डिभिजन नुवाकोट र पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूको सहभागिता रहेको थियो।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले सूर्यगढीसहित दुप्चेश्वर, तादी, पञ्चकन्या र शिवपुरीलगायतका पालिकामा पहिरोले पुर्याएको क्षति र पूर्वाधारको पुनर्निर्माणका लागि सङ्घीय सरकारको नेतृत्वमा सबै सरोकारवाला निकायलाई साथमा लिएर अघि बढ्ने बताए।
प्रकाशित: ३० श्रावण २०८३ १६:२५ शनिबार





