३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीको पुँजी, ज्ञान र सीप नेपालका लागि आवश्यक रहेको बताएका हुन्।  

अर्थमन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्ने क्षेत्रमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरे। सरकारले लगानीमैत्री वातावरण निर्माण गर्दै सम्मानजनक रोजगारी सिर्जनालाई प्राथमिकता दिएको उनको भनाइ छ। 

उनले सरकारले नतिजा देखिने गरी तीव्र गतिमा सुधारका काम अघि बढाइरहेको बताए। बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीको वातावरण सहज बनाउन काम भइरहेको उल्लेख गर्दै उनले पहिलो वर्ष सुधारको सुरुआत गरिएको र आगामी वर्षहरूमा त्यसको परिणाम देखिँदै जाने दाबी गरे। 

‘पहिलो वर्ष सुधारको सुरुआत गर्‍यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,’ उनले भने। 

अर्थमन्त्री वाग्लेले मुलुकका विकास लक्ष्य हासिल गर्न आन्तरिक स्रोत महत्वपूर्ण रहेको बताए। बाह्य लगानीको स्रोत अप्ठ्यारो अवस्थामा रहेकाले प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन सरकार केन्द्रित रहेको उनले स्पष्ट पारे। 

उनका अनुसार सरकारले डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने नीति लिएको छ। निर्वाचनको घोषणापत्रमै डायस्पोराको ‘सफ्ट पावर’ उपयोग गर्ने विषय समेटिएको स्मरण गर्दै उनले हाल सरकारले त्यसलाई कार्यान्वयनमा लैजाने प्रयास गरिरहेको बताए। 

धितोपत्र बाँडफाँट तथा निष्काशन नियमावलीमा हालै गरिएको संशोधनले नेपाल सरकार र एनआरएनए इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्‍याएको जानकारी पनि उनले दिए।  

‘आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस्। आफ्नो ज्ञान र सीपलाई यहाँ प्रयोग गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई आग्रह गरे।  

प्रकाशित: ३० श्रावण २०८३ १६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App