नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहालले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भनी बनाइएको भाष्य गलत भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूलाई पुरानो र नयाँका आधारमा मात्रै वर्गीकरण गर्नु दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले त्रुटिपूर्ण रहेको सुनाए।
संयोजक दाहालले सबै पुराना नेतृत्वलाई एउटै डालोमा राखेर गरिने आलोचनामा सत्यता नरहेको जिकिर गरे। ‘पुराना नेता र पुराना पार्टीका नाममा एउटा गलत भाष्य निर्माण गरिएको छ, जहाँ सबैलाई उस्तै देखाउन खोजिन्छ र त्यसमा मलाई पनि घिसार्न खोजिन्छ,’ उनले भने, ‘के त्यो सत्य हो त ? पक्कै होइन। सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो।’
सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गर्दै नयाँ र पुराना शक्तिबीचको अर्थपूर्ण एकता सम्भव रहेको बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन्हुँ दै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग अत्यन्तै दह्रो सहकार्य गरेको थिएँ,’ उनले थपे।
उनले आफ्नो नेतृत्वको सरकारले सुशासन, सेवा प्रवाहको सरलीकरण, मेरिटोक्रेसीको प्रवर्द्धन, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्ध कारबाही अघि बढाएको सुनाए।
उनले विगतको ‘दुईतिहाइको कुशासन’ विरुद्ध प्रतिपक्षमा रहँदा सानो संख्यामा भए पनि विकृति र बेथिति विरुद्ध सशक्त ढंगले लडेको उल्लेख गरे।
संयोजक दाहालले समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उपलब्धिका मानेका छन्।
उनले भने, ‘यो सम्मानित संसदमा जसको प्रवेश भए पनि म आफैं प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ प्रवेश गरेर मन्त्री बन्ने अवस्था कसरी सिर्जना हुन्थ्यो ?’
उनले क्रान्तिको उपलब्धिमाथि गर्व गर्ने समाजमै केही पात्रहरूले अझै पनि परिवर्तनलाई अपराधीकरण गर्न खोजेको भन्दै आपत्ति जनाए।
प्रकाशित: २९ वैशाख २०८३ १४:५६ मंगलबार





