श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरसफाइलाई केवल बाह्य वातावरणसँग मात्र नजोडी मन र तनको शुद्धतासँग पनि जोड्नुपर्ने बताएका छन्।
शनिबार पशुपतिनाथ मन्दिर परिसरमा आयोजित सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
अध्यक्ष साम्पाङले सरसफाइ तीन प्रकारको हुने बताए। ‘एउटा मनको सफाइ, अर्को तनको र तेस्रो वातावरणको सफाइ हो,’ उनले सुनाए, ‘हामीले यी तीनै पक्षमा ध्यान दिनुपर्छ र सरसफाइ अभियानमा सबैजना लाग्नुपर्छ।’
उनले मनको सोच र विचारमा शुद्धता ल्याउनु नै पहिलो सरसफाइ भएको सुनाए।
साम्पाङले सरसफाइ नागरिकको अनुशासनको विषय भएको बताए। फोहोर व्यवस्थापन गर्ने काम सरकार वा नगरपालिकाको मात्र हो भनेर पन्छिन नहुने उनको भनाइ थियो।
‘हामी आफैँले खाएका प्लास्टिक र बोतलहरू जथाभाबी फाल्नु हुँदैन, यो हाम्रो आफ्नै अनुशासनको कुरा हो,’ उनले थपे।
आफ्नो व्यक्तिगत बानीको उदाहरण दिँदै साम्पाङले आफू सधैँ चकलेट वा अन्य खानेकुराका र्यापरहरू गोजीमै राखेर हिँड्ने गरेको बताए।
उनले जथाभाबी प्लास्टिक र धातुजन्य खोलहरू नफाल्न आग्रह गर्दै सबैलाई सरसफाइ अभियन्ताका रूपमा अगाडि बढ्न आह्वान गरे।
पशुपति क्षेत्रमा आयोजित उक्त अभियानमा उल्लेख्य सङ्ख्यामा युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
प्रकाशित: ५ वैशाख २०८३ १६:११ शनिबार





