मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्। प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी आज दिउँसो चार बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको हो।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा मंगलबार नै स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते आज दिनको ४:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरिएको जानकारीका लागि अनुरोध छ।’
प्रकाशित: २९ आश्विन २०८२ ०७:४२ बुधबार





