काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नगर प्रहरीहरू महानगरका ‘गुडविल एम्बेसेडर’ (सद्भावना दूत) भएको बताएकी छन्।
उनले नगर प्रहरीले जनतासँग प्रत्यक्ष जोडिएर संस्थाको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूको भूमिका अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण रहेको बताइन्।
शनिबार नगर प्रहरी बलको ३३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले नगर प्रहरीलाई जनताको सुख, दुःख, चाडपर्व र हरेक विपत्तिमा साथ दिने निकायको रूपमा चित्रण गरिन्।
‘तपाईंहरू जनतासँग सबैभन्दा नजिक हुनुहुन्छ, त्यसकारण महानगरको प्रतिनिधित्व तपाईंहरूको व्यवहारबाटै झल्किन्छ,’ उनले भनिन्।
उनले थपिन- ‘सबै विभागका कर्मचारीहरू जनतासँग प्रत्यक्ष जोडिन सम्भव नहुन सक्छ, तर नगर प्रहरी भनेको नागरिकको हरेक सुख-दुःख, चाडपर्वदेखि रमाइलो महोत्सवसम्म जोडिने निकाय हो। त्यसकारण तपाईंहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। मलाई विश्वास छ, तपाईंहरूले सधैं निष्पक्ष भएर, संस्थाको हितमा र जनताका लागि काम गर्नुहुनेछ।’
उपप्रमुख डंगोलले नगर प्रहरीले आफ्नो व्यक्तिगत जीवनका खुसीहरू त्यागेर पनि महानगरपालिकाले खटाएको ठाउँमा दिनरात नभनी सेवा गरिरहेकोमा धन्यवाद ज्ञापन गरिन्।
उनले भनिन्, ‘तपाईंहरू आफ्नो परिवारभन्दा पनि महानगरवासीलाई आफ्नै परिवार सम्झेर काम गर्नुहुन्छ, यो सराहनीय छ।’
उनले विगत केही वर्षदेखि नगर प्रहरीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समेत समन्वय गरेर क्षमता विकास र विपद् व्यवस्थापनमा संयुक्त रूपमा काम गरिरहेकोमा प्रशंसा गरिन्।
‘संस्थाको गर्विलो पहिचान बोकेर तपाईंहरूले सधैं कानूनी शासनको प्रतिनिधित्व गर्न सक्नुहोस्, यही शुभकामना छ,’ उनले भनिन्।
प्रकाशित: १४ भाद्र २०८२ १६:०६ शनिबार


-600x400.jpg)


