२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ओली-सी भेटबारे विज्ञप्तिमा आ-आफ्नै प्राथमिकता: नेपाललाई लिपुलेकको चिन्ता, चीनलाई ताइवानको

लिपुलेक मुद्दामा चिनियाँ विज्ञप्ति ‘मौन’, बीआरआई र ताइवानमा मात्रै केन्द्रित

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको भेटवार्ताबारे नेपाल र चीनले जारी गरेको सूचनामा एउटा महत्त्वपूर्ण विषयमा भिन्नता देखिएको छ।

नेपालले प्रधानमन्त्री ओलीले लिपुलेकको मुद्दा दृढतापूर्वक उठाएको बताए पनि चिनियाँ परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भने लिपुलेकको विषय उल्लेख नै गरिएको छैन।

बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएको र त्यहाँ व्यापारिक नाका बनाउने चीन-भारत समझदारीप्रति नेपालको गम्भीर आपत्ति रहेको कुरा राष्ट्रपति सीसमक्ष राखेको उल्लेख थियो।

तर, चिनियाँ परराष्ट्र मन्त्रालयले सोही भेटवार्ताबारे जारी गरेको विस्तृत विज्ञप्तिमा लिपुलेक, सीमा विवाद वा त्यसबारे नेपालले उठाएको आपत्तिको कुनै पनि प्रसंग समावेश छैन।

चिनियाँ विज्ञप्तिमा राष्ट्रपति सीले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षामा सहयोग गर्ने, संयुक्त राष्ट्रसंघ र सांघाई सहयोग संगठन (एससीओ) जस्ता बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने र उच्च गुणस्तरका ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना कार्यान्वयनमा जोड दिएको उल्लेख छ।

चिनियाँ विज्ञप्तिअनुसार, राष्ट्रपति सीले ‘एक चीन नीति’ प्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद दिएका थिए।

त्यस्तै, चिनियाँ पक्षको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले ‘एक चीन सिद्धान्त’ प्रति नेपाल दृढ रहेको, ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्ने र कुनै पनि शक्तिलाई आफ्नो भूमि चीनको हितविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको उल्लेख छ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गत व्यापार, लगानी, कृषि, विज्ञान तथा प्रविधि र पर्यटनजस्ता क्षेत्रमा चीनसँग सहकार्य गहिरो बनाउन चाहेको कुरामा जोड दिइएको छ।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा छन्। शनिबार थियानजिनमा भएको उक्त भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च पदस्थ नेताहरू छाइ छी, वाङ यी र छन मिनअर पनि उपस्थित रहेको चिनियाँ विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १४ भाद्र २०८२ २२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App