१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कार्यशैली सुधार्न मुख्यसचिवको निर्देशन

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको साखलाई अझ उँचो बनाउन तथा सुशासन, सेवाप्रवाह, विकास निर्माणमा सुधार ल्याउन व्यक्तिगत आचरण र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार पद बहालीपछि सचिवहरूलाई निर्देशन दिँदै अर्यालले यस्तो बताएका हुन्। उनले सचिवहरूलाई २५ बुँदामा निर्देशन दिएका छन्।

‘सरकार तपाईं हामीजस्ता राष्ट्रसेवक भएर नै जनताको घरदैलोमा पुग्छ। अतः तपाईं हाम्रो अनुहारमा सरकार प्रतिम्बित हुन्छ। तपाईं हामीले अवलम्बन गर्ने सोच र प्रदर्शन गर्ने शैली, व्यवहार र आचरणले सरकारको समग्र छवि निर्धारित हुन्छ’ अर्यालले भने, ‘सरकारलाई सफल बनाउन, सरकारले जनताप्रति गरेका वाचा र प्रतिबद्धतालाई पूरा गरी सरकारप्रति जनताको भरोसा र विश्वासलाई कायम राख्न तथा सर्वसाधारणको नजरमा सरकारको छविलाई उच्च बनाउन निजामती कर्मचारीहरू आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्वप्रति सदैव समर्पित हुन सक्नुपर्छ।’

सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती नियन्त्रण गर्न बढी भिड हुने कार्यालयमा सम्भव भएसम्म टोकन प्रणाली वा रिपोर्ट कार्ड लागु गरी कामलाई समयमै चुस्त रूपमा सम्पादन गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन्। सबैलाई निसंकोच र पूर्ण उत्साहका साथ  निर्वाचनमा सहभागी गराउन र सबैबिच विश्वासको वातावरण बनाउन पनि उनले सचिवहरूलाई निर्देशन दिएका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान निकायलगायतलाई आवश्यक सहयोग उपलब्ध गराई राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन आवश्यक समन्वय र सहजीकरण गर्न पनि उनले निर्देशन दिएका छन्। उनले प्रधानमन्त्री कार्यालयलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्तरोन्नति र क्षमता विकास गरी यसलाई ‘उत्कृष्ट केन्द्र’ को रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

प्रकाशित: ११ मंसिर २०८२ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App