२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

पाँच सय जरिवाना तिराएका ट्राफिक प्रहरीलाई मुख्यमन्त्री शाहले दिए धन्यवाद

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै पाँच सय रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यसहितको प्रहरी टोलीले बिहीबार मुख्यमन्त्री शाहको निवासमै पुगेर पाँच सय रुपैयाँ जरिवाना तिराएका हुन्।

लामो समयदेखि शारीरिक अस्वस्थ रहेका कारण बैशाखीको सहायताले हिँड्डुल गर्ने गरेका मुख्यमन्त्रीले आफ्नै निवासको कम्पाउण्डभित्र बिनाहेलमेट बुलेट बाइक चलाएको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको थियो। बिनाहेलमेटसहित मुख्यमन्त्रीले बुलेट बाइक चलाएको समाचार बाहिरिएपछि ट्राफिक नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही स्वरुप ५ सय रुपैयाँ जरिवाना तिराएको हो। मुख्यमन्त्री शाहकै स्वकीय सचिवले टिकटकमार्फत मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गरेका थिए।

मुख्यमन्त्री शाहलाई ५ सय जरिवानासहित काटिएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको कसुर’ भनेर उल्लेख गरिएको छ।

मुख्यमन्त्रीले शाहले धन्यवाद दिए ट्राफीक प्रहरीलाई

हेलमेट नलगाई मोटरसाइकल चलाएकाले कानुनी व्यवस्था अनुसार आफूलाई जरिवाना बमोजिम चीट काटेकोमा मुख्यमन्त्री शाहले ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्। जरिवाना तिरेपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री शाहले नागरिकलाई सचेत गराउने आफ्नो कर्तव्य र दायित्व पनि भएको उल्लेख गर्दै जरिवाना तिरेको बताए।

‘हामीले सबैले पूर्ण रूपमा ट्राफिक नियम पालना गर्नुपर्छ, ट्राफिक नियम पालना नगर्दा धेरै दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘इमान्दार र कर्तव्यनिष्ठ भएर कानुनलाई कठोरका साथ कार्यान्वयन गर्नुपर्छ।’  

‘मैले कम्पाउण्डभित्र मोटरसाइकल चलाउँदा हेलमेटको कुरालाई लिएर केही विवादको कुरा आए,’ उनले भने, ‘कानुन सर्वसधारण र ओहोदा तथा सत्तामा बसेका सबैका लागि समान छ भन्ने बुझ्नुपर्छ।’

कानुन प्रयोग गर्ने र गराउने कसैले पनि कानुनको गलत रूपमा आफू अनुकूल व्याख्या कसैले पनि गर्न नहुने पनि उनले बताए।

ट्राफिक नियम उल्लंघन नगर्न उनले आग्रह गरे। कानुन व्यवस्था अनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएकाले ट्राफिक प्रहरीले चिट काटेको उनले बताए।

प्रकाशित: १८ असार २०८३ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App