मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक अस्पताल गौरमा नर्सिङ शिक्षा सुरु गर्ने बताएका छन् ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारको तर्फबाट प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरुआत गर्ने बताएका हुन्। निकट भविष्यमा प्रक्रिया पूरा गरेर नर्सिङ शिक्षाको सुरुआत गर्ने प्रतिबद्धता मुख्यमन्त्री सिंहले व्यक्त गरे।
रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य (एमसीएच) क्लिनिक र चमेना गृहको उद्घाटन तथा सामाजिक परीक्षण प्रस्तुति कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले स्वास्थ्यकर्मीहरूको सक्रियताले गौर अस्पतालप्रति सेवाग्राहीको विश्वास बढेकोमा प्रशंसा पनि गरे। मुख्यमन्त्री सिंहले सेवा सुधारका लागि स्वास्थ्यकर्मीहरुले अझ बढी परिश्रम गर्नुपर्ने सल्लाह पनि दिएका छन् ।
मुख्यमन्त्री सिंहका अनुसार, मापदण्ड पूरा नगरी गैर कानुनी रूपमा सञ्चालन भइरहेका केही निजी अस्पतालहरू अनुगमनमार्फत बन्द भइसकेका छन् । अझै पनि मापदण्ड पूरा नगरेका अस्पतालहरूमा छिट्टै आवश्यक कारबाही हुने बताउँदै उनले आइसियुको नाममा केवल बोर्ड टाँसी एयर कन्डिसन ९एसी० राखेर सर्वसाधारणलाई ठगी गर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिएका छन् । सरकारी अस्पतालको सेवा तथा सुविधाबारे व्यापक प्रचार–प्रसार गर्न आवश्यक रहेको मुख्यमन्त्री सिंहको भनाइ छ ।
प्रदेश सरकारको निरन्तर प्रयासका कारण अस्पतालको सेवामा सुधार हुँदै गएको र सेवाग्राहीको संख्या पनि बढेको दाबी गर्दै सिंहले नागरिकको अपेक्षा अनुसार अझै काम गर्न आवश्यक रहेको स्वीकार गरेका छन् । प्रादेशिक अस्पतालको लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको पनि सिंहले जानकारी गराएका छन् ।
प्रकाशित: २८ श्रावण २०८२ १३:०५ बुधबार





