मधेस प्रदेशको राजधानी जनकपुरधाममा चार दल मुख्यमन्त्री फेर्ने समीकरण बनाउन व्यस्त रहँदा मुख्यमन्त्री सतिशकुमार सिंह भने सप्तरीको छिन्नमस्ता भगवतीलगायतका शक्ति पीठमा पूजाआजा गर्न व्यस्त छन्।
नेपाली कांग्रेस र मुख्यमन्त्री सिंह आबद्ध जनमत पार्टीले समेत सरकारबाट समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा परेका मुख्यमन्त्री सिंहले आफूलाई पूजापाठमा व्यस्त बनाएका हुन्।
सरकार अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवको तर्क छ। मुख्यमन्त्रीले राजीनामा दिए नयाँ सरकार सहज ढंगबाट बन्ने, नभए दुई साताको समय लाग्ने यादवले बताए।
‘मुख्यमन्त्री जीकै दल जनमत पार्टीले समेत सरकारबाट समर्थन फिर्ता लिएर उहाँलाई फिर्ता बोलाइसकेको अवस्था छ,’ उनले भने, ‘तर उहाँ यसलाई इगनोर गर्दै आउनुभएकोले परिस्थिति जटिल बन्दै गएको छ।’
मुख्यमन्त्रीले लिखित रूपमा राजीनामा बुझाएपछि मात्रै अर्को सरकार गठनको बाटो खुल्ने संवैधानिक व्यवस्था छ।
आइतबारसम्म नयाँ सरकार गठन गर्ने तयारीमा रहेका चार दलबिच सहमति भइसके पनि सिंहले राजीनामा नदिँदा तत्काल नयाँ सरकार गठन टरेको छ।
‘सरकारमा सहभागी दलमध्ये कुनै दलले समर्थन फिर्ता लिए सरकारले पुनः विश्वासको मत लिने संवैधानिक अधिकार छ। ३० दिनभित्र सरकारले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ,’ कांग्रेस संसदीय दलका नेता यादवले भने, ‘मुख्यमन्त्रीले पदबाट लिखित रूपमा राजीनामा दिए मात्रै ३० दिन अगावै सरकार निर्माणको बाटो खुला हुन्छ।’ त्यस कारण अहिले पहिला मुख्यमन्त्रीको राजीनामाको प्रतीक्षा गरिरहेका उनले बताए।
मुख्यमन्त्री सिंह भने तत्काल राजीनामा दिने पक्षमा छैनन्। उनले प्रदेश सभा फेस गर्ने अडानमा छन्।
कांग्रेस नेतृत्वमा पुरानो समीकरणअनुसार नै सरकार गठन गर्ने चार दलबिच सहमति भएको छ । शुक्रबार कांग्रेस, एमाले, जनमत र लोसपा बैठक बसेर नयाँ सरकार बनाउने सहमति भएको थियो। यद्यपि मन्त्रालय बाँडफाँटको टुंगो भने लागिसकेको छैन। मुख्यमन्त्रीको मात्रै टुंगो लगाइएको जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले बताए।
जनमत पार्टीले आफ्नै सरकार ढाल्ने निर्णय लिएको केही दिनमा कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। जनमत संसदीय दलका नेता यादवले गएको २८ गते प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारबाट मुख्यमन्त्री तथा मन्त्रीहरू फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएको थियो। त्यसपछि कांग्रेस संसदीय दलको बैठकले निर्णय गर्दै यही असोज ८ गते आफ्नो समर्थन फिर्ता लिएको थियो।
यसरी दुई दल सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। प्रदेश सरकार अल्पमतमा परेपछि पुनः चार दलले बैठक गरेर नेतृत्व परिवर्तन गरेर नयाँ सरकार बनाउने सहमति गरेका हुन्।
यहीबिचमा आइतबार मुख्यमन्त्री सिंहले सप्तरीको प्रसिद्ध शक्ति पीठ छिन्नमस्ता भगवती मन्दिरमा पूजापाठ गरी मधेस र मधेसवासीको कल्याणको कामना गरेको बताएका छन्।
मधेस प्रदेशको समुन्नति, विकास तथा मानव कल्याणको कामना गर्दै छिन्नमस्ता भगवती मातासँग प्रार्थना गरेको उनले बताए। करिब १० मिनेट मन्दिरको गर्भ गृहमा दर्शनसँगै मुख्यमन्त्री सिंहलाई मन्दिरका पीठाधीश महकान्त ठाकुरले पूजापाठ गराएका थिए।
सिंहले पूजापाठपछि मन्दिर परिसरमा रहेको शनि मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, कालभैरव मन्दिर, हनुमान मन्दिरमा दर्शन गरेका थिए ।
प्रकाशित: १२ आश्विन २०८२ १८:४९ आइतबार





