लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने गरी अस्पतालबाट सेवा दिन आग्रह गरेका छन्।
पश्चिम नवलपरासीको सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको ५० शय्याको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नागरिकलाई सहज र सर्वसुलभ सेवाका लागि जटिल तथा हुनै नसक्ने उपचारबाहेक सबै सेवा अस्पतालबाट प्रवाह गर्न आग्रह गरेका हुन्।
उनले भने, ‘यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ। जो बाहिर गएर उपचार गराउन आर्थिक रूपमा असमर्थ छन्। त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गर्दै अस्पताललाई सेवा प्रवाहमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरू सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकदमी लिएको छ।’
जिल्ला अस्पतालका रूपमा रहेको पृथ्वी चन्द्र अस्पताललाई विकास तथा सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट कुनै कमी नहुने उनको भनाइ थियो। रासस
प्रकाशित: १० श्रावण २०८२ १७:०७ शनिबार





