१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाएका छन्।

मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बङ्गालीलगायत विभिन्न समुदायको साझा सहभागितासहित समावेशी रूपमा छठ मनाइएको हो।

नेपाल–भारत सीमावर्ती भद्रपुर–५ को मेची नदी किनारमा यस वर्ष एक हजारभन्दा बढी पूजास्थल निर्माण गरिएको छ। करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैतर्फ हिमाल, पहाड र तराईका बासिन्दाले एकसाथ अर्घ्य अर्पण गर्दै साझा पर्वको रूपमा छठ मनाएको मैथिल समाजका अग्रज विकासकुमार गुप्ताले बताए।

पूजास्थल वरपर सुरक्षाको व्यवस्था नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त गस्तीमार्फत गरेका छन् भने विभिन्न सामाजिक सङ्घ–संस्थाले मेलामा आएका भक्तजनका लागि निःशुल्क पानी र चियाको व्यवस्था गरेका छन्।

पछिल्ला वर्षमा भद्रपुर र भारतको गलगलियाका स्थानीय बासिन्दाले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेका छन्। चार दिनसम्म चल्ने यस पर्वमा तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व सम्पन्न हुने परम्परा छ।

मैथिल समाजका अग्रज गुप्ताका अनुसार जनसहभागिताका दृष्टिले नेपालको जनकपुरपछि दोस्रो स्थान भद्रपुर रहेको दाबी गरे।

झापाको मेची, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई नदी र रतुवा खोलाका किनारमा पनि भव्य रूपमा सजावटसहित छठपूजा गरिँदै आएको छ। तीमध्ये भद्रपुरस्थित मेचीघाटमा सर्वाधिक भीड हुने गरेको छ।

यसैबीच, छठ पर्वको अवसरमा मेचीघाटस्थित छठी माता मन्दिर परिसरमा गङ्गा आरतीको विशेष कार्यक्रम आयोजना गरिएको छ। उक्त आरतीको शुभारम्भ भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले गरे।

प्रकाशित: १० कार्तिक २०८२ २०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App