१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको एकल इजलासले जोशीसँग धरौटी माग गर्दै थुनामुक्त गर्ने आदेश दिएको हो।

थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै जोशीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै यसअघि उच्च अदालत बुटवलले कैफियत प्रतिवेदनसहितको मिसिल पुनः जिल्ला अदालतमै फिर्ता पठाउने आदेश दिएको थियो।

उच्च अदालतको सोही निर्देशनबमोजिम आइतबार जिल्ला अदालतले पुनः सुनुवाइ गर्दै उनलाई धरौटीमा रिहा गर्ने बाटो खोलिदिएको हो।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन र संगठित अपराधको अभियोगमा जोशी लामो समयदेखि थुनामा थिए। गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको थियो।

यसअघि सोही प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि उच्च अदालतले  थुनामुक्त गर्ने आदेश दिएको थियो।

लामिछाने रिहा भएको दुई दिनपछि जोशीले पनि अदालती प्रक्रियाबाट रिहाइको आदेश पाएका हुन्।

प्रकाशित: ६ पुस २०८२ २२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App