नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरेर चुनावी प्रक्रियामा सहभागी हुने तयारी भइरहेको बताएका छन्।
बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले राजनीतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको बताए। उनले पुरानो स्कुलको विस्थापन गर्दै चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई परिवर्तन गरेको उल्लेख गरेका छन्।
उनले पार्टीले एकीकृत जनक्रान्तिको स्कुलअनुसार समग्र संघर्षको मोर्चामा चुनावी प्रक्रियालाई आत्मसात् गरेर पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा लाग्ने उल्लेख गरेका छन्। नयाँ राजनीतिक स्कुलअनुसार अगाडि बढ्दै चन्दले राष्ट्रिय मुद्दाहरूमा लड्ने र सबै देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्ने उनको प्रस्ताव छ।
चन्दले लेखेका छन्, ‘चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात् गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा डट्ने पहल गरेका छौ। नयाँ स्कुल अनुरूप सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्दै देशको स्वाधीनता ,नेपाली विशेषताको समाजवाद, जनताको विशेषत: युवाहरूको शिक्षा, रोजगारीका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।’
प्रकाशित: १२ कार्तिक २०८२ ०९:४५ बुधबार





