बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यसूचीपछि नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले सभाको अध्यक्षता लिइन्।
सभामुख नभएका बेला उपसभामुख र उपसभामुख पनि नभएका बेला दश सदस्यीय अध्यक्ष मण्डल मध्येबाट सभाको अध्यक्षता लिने संसद्मा पुरानो अभ्यास छ। अभ्यास पुरानो नै थियो तर सभाको अध्यक्षता लिएकी अग्रहरीको लवज र हडबडिएको स्वरले प्रतिनिधिसभा केही फरक रह्यो।
हडबडिएको स्वरमा माननीय सदस्य सम्बोधन गर्नुपर्नेमा 'मा सदस्य' भनेपछि महासचिव पद्मप्रसाद पाण्डेले त्रुटिलाई सच्याउन अग्रहरीलाई सम्झाएका थिए। यसअघि, पनि अध्यक्षता गरेकी उनले विशेष समयमा बोल्ने सांसदको नाम बोलाउने मात्र काम गरेकी थिइन् तर, बुधबारको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने र सामान्य छलफल गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची थियो।
पानी जहाज (सञ्चालन र व्यवस्थापन) विधेयक २०८१ माथि विचार गरियोस् प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा पनि गरिन्। एमालेबाट समानुपातिक सांसद अग्रहरी कपिलवस्तु जिल्लाको मधेसी समूहको प्रतिनिधित्व गर्छिन् भने उनको मातृभाषा अवधी हो।
उनी नेकपा एमालेबाट कपिलवस्तु जिल्लाको मधेसी समूहको प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन्। उनको मातृभाषा अवधी हो। उनले नेपालीमा शपथ ग्रहण गरेकी थिइन्। उनको शैक्षिक योग्यता प्रमाणपत्र तह हो। विभिन्न संघ संस्थामा आवद्ध रही सेवा गरेको उनको अनुभव छ।
विसं २०४७ सालमा महिला मञ्चको राष्ट्रिय अध्यक्ष रहेकी उनले २०४७ सालको राजनीतिमा आवद्ध भई राष्ट्रिय महिला मञ्चको अध्यक्ष भई कामकाज गरेको अनुभव छ। राजनीतिक पार्टीको विभिन्न पदमा रही काम गरेको पनि उनले बताएकी छन्।
उनी अष्ट्रेलिया, चीन, बेलायत, भारत, बंगलादेश, काजकस्तान लगायतका मुलुकमा भ्रमण पनि गरेकी छन्। उनको जन्म २०१८ साल जेठ ५ गते भएको हो। कपिलवस्तु जिल्ला २ तौलिहवाकी स्थानीय हुन्।
प्रकाशित: ७ श्रावण २०८२ १९:१२ बुधबार





