२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मतदातालाई रिझाउन उम्मेदवारको नयाँ रणनीति : भोलिदेखि चुनावी प्रचार

निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता मतदातासँग भेटघाटमा व्यस्त छन्। दल र उम्मेदवारले भोलि देखि थप चुनावी प्रचार गर्ने आन्तरिक तयारी गरेका छन्। साथै मतदातालाई आफ्नो पक्षमा कसरी आकर्षित गर्ने भन्ने विषयमा रणनीति तयार गरिरहेका छन्। 

स्थानीय समस्यालाई चुनावी कार्ययोजना बनाएका सबै दलले प्रचारलाई तीव्र बनाउने गृहकार्य गरिरहेका छन्। तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा तीनवटै क्षेत्रका टोल तहबाट अभियानलाई तीव्र बनाउने तयारी भइरहेको दलहरूको भनाइ छ।  

नेपाली कांग्रेस चितवनले प्रचार अभियान टोल तहबाट सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। पार्टीका जिल्ला सचिव ध्रुव पोखरेलले तीनवटै निर्वाचन क्षेत्रका क्षेत्रीय प्रचार कार्यालय सञ्चालन गरी विधिवत रूपमा घरदैलो कार्यक्रम सुरु हुने जानकारी दिए। उनले पार्टीका केन्द्रीय सभापति गगन थापा र केन्द्रीय प्रचार संयोजक देवराज चालिसे सँग समन्वय गरी ठूलो सभा गर्ने तयारी गरिएको बताए। 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनका इन्चार्ज देवी ज्ञवालीले सोमबारबाट वडा तहमा घरदैलो तथा कोणसभा गर्ने तयारी रहेको बताए। सभालाई केन्द्रीय नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको उनले उल्लेख गरे।  

यसैगरी नेपाल कम्युनिष्ट पार्टी चितवनका संयोजक रामचन्द्र अधिकारीले सोमबारबाट घरदैलो, कोणसभा र सभा गर्ने गरी तालिका तयार गरिने जानकारी दिए। केन्द्रीय नेताको उपस्थितिमा सभा कहिले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जनाउँदै उनले तीनवटै क्षेत्रमा प्रचार तीव्र बनाइने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रीय सदस्य राजन गौतमले सोमबारबाट प्रचारप्रसारलाई तीव्र बनाउने तयारी भइरहेको बताए। घरदैलो, कोणसभा र सभा गरिने तथा केन्द्रीय नेताको उपस्थितिमा बृहत् सभा आयोजना गरिने उनले जानकारी दिए। 

अन्य दल तथा उम्मेदवारले पनि प्रचार अभियानलाई तीव्रता दिने तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, जनमत पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, नेसनल रिपब्लिकन नेपाल, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दल र स्वतन्त्र उम्मेदवारले प्रचार तीव्र पार्ने तयारी गरेका छन्

जिल्ला निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ मतदाता रहेका छन्। यसमध्ये दुई लाख १७ हजार ३१४ पुरुष, दुई लाख २४ हजार ७६६ महिला र दुई जना तेस्रो लिङ्गी रहेका छन्। उनीहरूले १६२ मतदानस्थल र ४९४ मतदान केन्द्रबाट मतदान गर्नेछन्। निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यस वर्ष ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र थप भएका छन्।

क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन्, जसमा ७६ हजार ७६१ पुरुष र ७५ हजार ८६० महिला छन्। यस क्षेत्रमा ५६ मतदानस्थल र १६८ मतदान केन्द्र रहेका छन्।

क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ मतदाता छन्। तीमध्ये ६७ हजार ८५७ पुरुष, ६९ हजार २९४ महिला र एक जना तेस्रो लिङ्गी छन्। यहाँ ४८ मतदानस्थल र १५२ केन्द्र रहेका छन्। 

क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेका छन्। तीमध्ये ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ महिला र एक जना तेस्रो लिङ्गी छन्। उनीहरूले ६३ मतदानस्थल र १७४ मतदान केन्द्रबाट मतदान गर्नेछन्। रासस

प्रकाशित: ३ फाल्गुन २०८२ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App