२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

देशैभरका कार्यालय प्रमुखलाई बोलाएर आइजिपी कार्कीले भने : फसाउन सक्छन्, प्रमाण सुरक्षित गरी काम गर्नू

नेपाल प्रहरी नेतृत्वले निर्वाचनमा उम्मेदवार र दलका कार्यकर्ताले प्रहरीलाई नै फसाउने गरी काम गर्न सक्ने भएकाले प्रमाण सुरक्षित राखेर काम गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ। देशभरका प्रहरी कार्यालय प्रमुखहरुलाई शुक्रबार बिहान १० बजे यस्तो निर्देशन दिइएको हो। प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले निर्वाचन बिथोल्न खोज्ने तत्वहरू नयाँ र पुराना दल दुवैतर्फ भएकाले सचेत हुन र निर्वाचन सुरक्षामा निर्भीक भए खटिन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

भर्चुअल निर्देशनमा कार्कीले कोही पनि उम्मेदवार वा अन्यले सुरक्षाका नाममा पिएसओ (व्यक्तिगत सुरक्षा) माग गरेमा आवश्यकता र सुरक्षा चुनौती हेरेर निर्णय लिन निर्दैशन दिएका छन्। उनले झापामा बालेन्द्र साही पत्नीको सुरक्षामा सादा पोसाकमा सुरक्षाकर्मी खटाइएकातर्फ लक्षित गर्दै यसरी जो कोहीको सुरक्षामा सुरक्षाकर्मी पठाएमा कारबाहीको भागिदार हुनुपर्ने बताएका छन्। ‘चुनाव प्रचारप्रसारका लागि कोही कसैले पनि सुरक्षाकर्मी नखटाउनु होला। त्यसो गरेको पाइएमा कारबाही हुनेछ’, कार्कीले भनेका छन्।

उनले उम्मेदवारको नजिक हुन खोज्ने र निर्वाचन छल्न खोज्ने प्रहरीको विवरण राख्न पनि निर्देशन दिएका छन्। ‘विभिन्न बहानामा उम्मेदवारको नजिक हुन खोज्ने, चुनावका बेला संगठनको गोप्य सूचना चुहाउने, संगठनको रणनीतिबारे सूचना दिने जस्ता काम भैरहेको भन्ने सुनिएको छ। त्यस्तो अवस्था आएमा तुरुन्तै कारबाही हुनेछ। त्यस्ता प्रहरी कर्मचारी छुट्ट विवरण पठाउनु होला’, कार्कीले निर्देश गरेका छन्, ‘कतिपय उम्मेदवारसँग पछि हिँड्न खोजेका छन्। त्यसको पनि अभिलेख राख्नुपर्छ।’ उनले निर्वाचन अवधिभर कसैलाई पनि घरपायक डिउटीमा नखटाउन पनि निर्देशन दिएका छन्।

कार्कीले नयाँ र पुराना दलको भाष्य निर्माण गरेर चुनावमा झडप हुन सक्ने पनि बताएका छन्। ‘झडप निम्ताउन सक्छन्, त्यसबेला जोखिम हुन सक्छ’, कार्कीले सचेत गराएका छन्। नयाँ र स्थापित दलका कार्यकर्ताबिच झडप भएमा निर्वाचन बिथोल्न खोज्ने तत्वहरु हाबी हुन सक्ने भएकाले त्यसतर्फ पनि सचेत हुने उनले भनेका छन्। ‘एउटा पक्ष एक महिना वा दुई महिनापछि चुनाव होस् भन्ने चाहन्छ, अर्को पक्ष अहिले नै होस् भन्नेमा छ,’ उनले भने। उनले निर्वाचन प्रहरी पनि कुनै संस्था र पार्टीसँग आबद्ध भए नभएतर्फ ख्याल राख्न पनि कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छ।

तुरुन्तै सूचना दिनू

आइजिपी कार्कीले निर्वाचन आचारसंहिता पूर्ण रुपमा लागु गराउन पनि निर्देशन दिएका छन्। ‘निर्वाचन आचारसंहिता पालना गर्न लगाउनु भयो भने मात्र प्रहरीलाई हेप्दैनन्, होइन भने प्रहरी हेपिने दिन आउँछ, त्यस्तो हेपिने दिन ननिम्त्याउनुस्, आफू सजग हुनुस्’, उनको निर्देशन छ।

उनले निर्वाचन सुरक्षामा सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन गर्न र उनीहरूको दैनिक विवरण राख्ने निर्देश गरेका छन्। सादा पोसाकमा प्रहरीलाई गैरव्यव्यासायिक ठाउँमा नखटाउन पनि उनले भनेका छन्। उनले कुनै पनि सूचना प्राप्त भएमा तत्काल माथिल्लो तहलाई जानकारी गराउन भनेका छन्। उनले उम्मेदवारको कार्यक्रम विवरण मागी सुरक्षाबारे विशेष ख्याल गर्न भनेका छन्।

कार्कीले निर्वाचन क्षेत्रमा जहिले पनि प्युसाहरु धेरै चम्किने र समस्या पनि तिनैले ल्याउने स्मरण गराउँदै सुरक्षा निकायलाई जिम्मेवार बनाउन र उम्मेदवारको दैनिक कार्यक्रम र समयबारे जानकारी राख्न पनि निर्देशन दिएका छन्। ‘त्यस्तो बेलामा तपाईंहरुले भनेको र उनले सुनेको कुरा अभिलेख राख्नु होला, भ्वाइस रेकर्ड पनि राख्नु होला। म्यासेजको जवाफ पनि राख्नु ह्वाट्सएप, च्याटमा पनि सुरक्षित गर्नु होला। यिनीहरु कसैको पनि भरोसा हुँदैन। उनीहरुले होइन वा जानकारी थिएन भनेर फसाउन सक्छन, प्रमाण अभिलेख गर्नुहोला’, कार्कीले निर्देशनका क्रममा भने। आइजीपी कार्कीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर सबै काम गर्न पनि निर्देश गरेका छन्।

‘सुरक्षा मामिलामा समस्या आएका बेलामा तपाईंहरुले भनेको र सुनेका कुराका अभिलेख राख्नु होला, भ्वाइस रेकर्ड पनि राख्नु होला। म्यासेजको जवाफ पनि राख्नु होला, ह्वाट्सएप, च्याट पनि सुरक्षित गर्नुहोला। सतर्क र सुरक्षित रहनु होला। हामीले भनेको होइन वा जानकारी थिएन भनेर फसाउन सक्छन्, प्रमाण अभिलेख गर्नुहोला’, कार्कीले भनेका छन्। कार्कीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर सबै काम गर्न निर्देश गरेका छन्।

भर्चुअल बैठकबारे प्रहरी प्रधान कार्यालय जनाएअनुसार आइजिपी कार्कीले निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजनासहित अन्य सुरक्षा निकाय एवं सरोकारवाला पक्षसँग निरन्तर समन्वय तथा सहकार्य गरी त्रुटिरहित तवरमा कार्यसम्पदान गर्न निर्देशन दिएका छन्। ‘निर्वाचन आचारसंहिता उल्लंघन गर्ने एवं अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखेर भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो’, प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

भर्चुअल बैठकमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित: १ फाल्गुन २०८२ २१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App