सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न शुक्रबार बिहान ११:०० बजेभित्र दाबी पेस गर्ने समय दिइएको छ।
मुख्यमन्त्री शाहको राजीनामासँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सत्ता साझेदारीको सहमति अनुसार नयाँ सरकार गठनको तयारी थालिएको छ। दुई दलबीच भएको सहमति अनुसार प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले नयाँ सरकारको नेतृत्व गर्नेछ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल नयाँ सत्ता गठबन्धनमा नेकपाका २२ र एमालेका ११ गरी स्पष्ट बहुमत (३३ सांसद) रहेको छ। प्रदेशसभामा नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ जना सांसद रहेका छन्।
प्रकाशित: २८ श्रावण २०८३ २०:४४ बिहीबार





