१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

चोलेन्द्रलाई पक्राउ गरेर सरकारले राज्य आ*तंकको नमुना प्रस्तुत गर्‍यो : महर

नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउलाई लिएर सरकारको आलोचना गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले कानुनी शासन र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए।

उनले जबरालाई ‘गुण्डागर्दी तथा अपहरण शैलीमा’ पक्राउ गरिएको दाबी गर्दै यसले राज्य आतंकको अवस्था सिर्जना गरेको आरोप लगाए।

उनले दुई तिहाइ जनमत प्राप्त गरेको सरकार कानुनी राज्य र विधिको शासन बलियो बनाउनका लागि हुनुपर्ने बताए।

उनले भने,‘कोही व्यक्तिले कानुन हातमा लिने वा कानुन मिच्ने काम गरेको छ भने, जोसुकै भए पनि उसमाथि अभियोग लगाई तथ्य र प्रमाणका आधारमा पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्छ। यसमा हामी सहमत छौँ। तर, सरकारले पटक–पटक पूर्वाग्रह र प्रतिशोधका आधारमा तथा आफ्नो विरोध गरेका कारण व्यक्तिहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत लिने काम गरिरहेको छ। यो कानुनी राज्य र विधिको शासनको बर्खिलापमा छ।’

सांसद महरले वर्तमान सरकार बनेदेखि नै यस्ता घटना दोहोरिँदै आएको दाबी गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेललाई सरकारले पक्रेर दुःख दिएको आरोप लगाए।

‘मान्छेको मानप्रतिष्ठा, व्यक्तिगत हक–अधिकार र मानव अधिकारको समेत उल्लंघन हुने गरी सरकारले नागरिकको हुर्मत लिइरहेको छ,’ उनले भने, ‘कानुनी राज्य र विधिको शासनको हुर्मत लिने सरकारको यो कार्यको म घोर निन्दा र भर्त्सना गर्न चाहन्छु।’

पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’बाट सुरक्षा खतरा रहेको भन्दै पक्राउ गरिएको विषयमा पनि महरले प्रश्न उठाए। सुरक्षा खतरा दिने व्यक्तिलाई कारबाही गर्नुको सट्टा सुरक्षा खतरा रहेको भनिएका व्यक्तिलाई नै पक्राउ गरिएको भन्दै उनले सरकारसँग स्पष्टीकरण माग गरे।

जेनजी आन्दोलनको नाममा सरकारमा पुगेकाहरूले अहिले त्यही समूहलाई बदनाम गर्ने काम गरिरहेको आरोपसमेत उनले लगाए। जबरालाई सुरक्षा खतरा दिने भनिएका व्यक्ति को हुन् भन्ने सरकारले स्पष्ट पार्नुपर्ने र दोषी भए उनीहरूमाथि कारबाही गर्नुपर्ने महरको माग थियो।

उनले जेनजी युवालाई आवश्यकताअनुसार प्रयोग गर्ने र पछि बदनाम गर्ने प्रयास भइरहेको भन्दै त्यसको विरोध गरे।

प्रकाशित: १२ आश्विन २०८३ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App