गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा क्षति पुर्याउनुका साथै पुल तथा घरहरू बगाएको घटनाप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनालले गहिरो दुःख व्यक्त गरेका छन्।
खनालले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवारीपूर्वक काम गर्न उनले सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन्।
बाढीको जोखिममा रहेका अन्य क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न केन्द्रीय तथा स्थानीय प्रशासन र सुरक्षा निकायलाई सम्पूर्ण शक्ति परिचालन गर्नसमेत उनले आग्रह गरेका छन्।
त्यसैगरी, विपद्को यस कठिन घडीमा पार्टीका नेता, सदस्य तथा शुभेच्छुकहरूलाई सरकार, प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै उद्धार, राहत वितरण तथा स्वयंसेवी कार्यमा सक्रिय सहभागी हुन खनालले आह्वान गरेका छन्।
प्रभावित नागरिकको सुरक्षित उद्धार, जीवनरक्षा र मानवीय सहयोगलाई तत्काल प्राथमिकता दिन सरकार तथा सम्बन्धित सबै निकायलाई उनले जोडदार आग्रह गरेका छन्।
प्रकाशित: २५ आश्विन २०८३ १२:५९ आइतबार





