१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको मत: देश र कांग्रेसका लागि अब देउवाकै निर्णायक हस्तक्षेप !

‘उहाँको वक्तव्यमा मंसिरमा महाधिवेशन छुट्नु नै गल्ती भयो’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशको समस्या समाधानका लागि सभापति शेरबहादुर देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। मंगलबार उदयपुरको गाईघाटमा कांग्रेस नेताकार्यकर्तामाझ धारणा राख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। 

‘दुई महामन्त्री के भन्छन्? या, सात भाइ के भन्छन्? अब त्यो मुख्य कुरा होइन,’ महामन्त्री शर्माले भने, ‘असोज २८ मा लिखित वक्तव्यमार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनुभएको थियो, अब त्यो कायम राख्ने कि नराख्ने मूल प्रश्न हो।’ 

सभापति देउवाले त्यो दिन केन्द्रीय समितिमा दिएको वक्तव्यमा ‘मंसिरमा महाधिवेशन छुट्नु हुन्न थियो’ भनेर शर्माले भनेका छन्। ‘त्यो छुट्नु गल्ती प्रमाणित भएको छ,’ उनले भने। 

अब पार्टी र देशको आजको समाधानका लागि  सभापति देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने मत उनले अगाडि सारे। उनले भने, ‘उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने मलाई विश्वास छ।’ 

सँगै महामन्त्री शर्माले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन फिर्ता हुने अवस्था नरहेको बताए। ‘विधानमा विशेष महाधिवेशन प्रस्ताव दर्ताको दफा छ, फिर्ताको दफा छैन। त्यसैले विशेषको ब्याक गियर हुन्न,’ महामन्त्री शर्माले भने। 

९० दिनभित्र विशेष महाधिवेशन गर्नै पर्ने उनले बताए। ‘सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ,’ उनले भने। 

‘कांग्रेस विधानसम्मत कांग्रेस अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,’ महामन्त्री शर्माले भने। 

प्रकाशित: ९ मंसिर २०८२ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App