११ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

चोलेन्द्र प्रकरणमा विष्णुको प्रश्न : सुरक्षा ‘थ्रेट’ प्रधानमन्त्रीलाई धेरै होला, प्रहरीले हरेक राति चौकीमा लगेर राख्छ त?

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई मध्यरातमा घरबाट लगिएको घटनाप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत रिजालले प्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई ‘अपहरणको शैलीमा’ घरबाट उठाएर पछि ‘उहाँकै सुरक्षाका लागि’ भन्दै बयान दिनु राज्य आतंकको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।

'यो त राज्य-आतंकको पराकाष्ठा भएन र? प्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई मध्यरातमा अपहरणको शैलीमा घरबाट उठाउने अनि केही नलागेपछि निर्लज्जतापूर्वक ‘उहाँकै सुरक्षाका लागि’ भनेर बयान दिने?' उनले प्रश्न गरे।

रिजालले सुरक्षाको विषय उठाउने हो भने प्रधानमन्त्री बालेन्द्र शाहलाई नै सबैभन्दा बढी ‘थ्रेट’ हुनसक्ने भन्दै व्यङ्ग्यात्मक प्रश्न गरेका छन्। उनले भनेका छन्, 'त्यसो भए अब उहाँलाई प्रहरीले हरेक राती चौकीमा लगेर राख्छ त?'

रिजालले राज्य सञ्चालन ‘सनक, आशंका र षड्यन्त्रको मनोविज्ञान’बाट गर्नु विनाशको बाटो भएको बताए। प्रधानमन्त्री शाहलाई रोक्नुपर्ने भन्दै उनले भनेका छन्, 'राज्य सञ्चालन सनक, आशंका र षड्यन्त्रको मनोविज्ञानबाट गर्नु सर्वथा विनाशको बाटो हो। कसले रोक्ने हो बालेन्द्र शाहलाई, छिटो रोक्नु राम्रो हुन्छ।' 

प्रकाशित: ११ आश्विन २०८३ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App