नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले आगामी निर्वाचनका लागि दैलेख–२ बाट उम्मेदवारको टिकट नपाए पनि मैदानमै रहने प्रतिक्रिया दिएका छन्।
यस पटकको निर्वाचनमा उनी दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको मतदानबाट पहिलो नम्बरमा सिफारिश भएका थिए। जिल्ला र प्रदेश कमिटीबाट पनि पहिलो नम्बरमै सिफारिश भए तापनि नेतृत्वको रोजाइमा भने तेस्रो पटक पनि पर्न नसकेको उनले गुनासो गरेका छन्।
'यस पटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले) का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिश भएको थिएँ,' रिजालले सामाजिक सञ्जालमा लेख्छन्, 'जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिश गरेका थिए। तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन।'
उम्मेदवार छनोटका क्रममा आफूलाई साथ, सहयोग, शुभेच्छा र हौसला दिने सबै नेता, कार्यकर्ता तथा दैलेख–२ का मतदाताप्रति आभार व्यक्त गर्दै रिजालले पुनः पनि उनीहरूको भावना साकार पार्न नसकेकोमा क्षमाप्रार्थी समेत गरेका छन्।
उनले नेतृत्वले यस पटक अनुभवी नेता लक्ष्मीराज शर्मालाई टिकट दिएको उल्लेख गर्दै पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि नेतृत्वको रोजाइमा पर्न सक्ने क्षमताको प्रशंसा गरेका छन्।
रिजालले आफू स्वेच्छाले राजनीतिमा लागेको उल्लेख गर्दै दैलेखी जनता, देश र पार्टीका लागि योगदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। २०५३ सालमा अखिलको जिल्ला अध्यक्ष बनेयता करिब २९ वर्ष राजनीति गरेको उल्लेख गर्दै पद नपाए पनि आगामी कम्तीमा २९ वर्ष यही क्षेत्रमा सक्रिय रहने उनले बताएका छन्।
पार्टी फुट र विभाजनको विपक्षमा आफू सधैं उभिएकोबताउँदै विगतमा पार्टी विभाजनमा संलग्न भई एमालेलाई हराएर पुनः एमालेमै फर्किएका केही व्यक्तिहरूले आफू मात्रै पार्टी बनाइरहेको रूपमा प्रस्तुत गर्नु हास्यास्पद भएको रिजालको टिप्पणी छ।
उनले भने, 'आजका दिनसम्म म कहिल्यै फुट र विभाजनका पक्षमा लागेको छैन। विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरुले आफू मात्रै पार्टी बनाउन लागेको रुपमा प्रस्तुत गर्नु हास्यास्पद छ।'
लेखपढ, पार्टीका पक्षमा पैरवी, पीएचडी अध्ययन र देश–विदेशका मञ्चमा सहभागितालाई कमजोरीका रूपमा व्याख्या गर्नेहरूप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राजनीतिक प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने प्रवृत्तिप्रति कडा आलोचना गरेका छन्।
'लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पीएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन। राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ,' उनले भनेका छन्।
प्रकाशित: ४ माघ २०८२ ०९:२४ आइतबार





