सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज नेपालगन्जमै राखिने भएको छ।
सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएकाले उनलाई सडक मार्ग हुँदै बाँके पुर्याइएको हो।
प्रहरी उच्च स्रोतका अनुसार पौडेललाई आज राति नेपालगन्जमै सुरक्षा घेरामा राखेर भोलि मंगलबार बिहानको पहिलो उडानबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।
वीरेन्द्रनगरस्थित होटल शुभममा आयोजित पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलको शंकास्पद सेयर कारोबार र विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्धबारे अनुसन्धान गर्न पक्राउका लागि पत्राचार गरेको थियो।
पौडेललाई सुर्खेतमा नियन्त्रणमा लिनुअघि विभागको टोलीले सोमबार दिउँसो १ बजे ललितपुरको भैसेपाटीस्थित उनको अस्थायी निवासमा छापा मारेको थियो। जेन-जी आन्दोलनका क्रममा घर जलाइएपछि पौडेल सोही क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन्।
छापा मार्ने क्रममा विभागले केही महत्त्वपूर्ण कागजात र दसीका प्रमाणहरू नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। व्यवसायी
पार्टीको प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रम चलिरहेकै बेला सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ होटल पुगेर पौडेललाई नियन्त्रणमा लिएका थिए। सो समयमा एमाले महासचिव शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतका शीर्ष नेताहरू समेत होटलमै उपस्थित थिए।
प्रकाशित: ८ असार २०८३ १९:०८ सोमबार





