नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार जेन-जी आन्दोलनको भावना र मर्मअनुकूल नभएको टिप्पणी गरेका छन्।
आइतबार एक कार्यक्रममा बोल्दै उनले उक्त सरकार रहस्यमय तरिकाले गठन भएको र यसले देशलाई थप संकटतर्फ धकेलेको आरोप लगाएका हुन्।
महासचिव विप्लवले जेन-जी आन्दोलनले उठाएका राजनीतिक उद्देश्यहरू पूरा हुन नसकेको उल्लेख गरे। ‘जेन-जीको विद्रोह आफ्नो राजनीतिक उद्देश्य हासिल गर्न असफल भएको छ,’ उनले भने, ‘आन्दोलनको बलमा संसद विघटन र अन्तरिम सरकार गठनसम्मको अवस्था आए पनि जनताले गरेको बलिदान र लाखौँको सडक सहभागिताको मर्मलाई यसले पूरा गर्न सकेन।’
उनले कार्की नेतृत्वको सरकार गठन प्रक्रियाप्रति गम्भीर प्रश्न उठाए। ‘यो अन्तरिम सरकार बनाउँदा नै एकदम रहस्यमय तरिकाले बनाइयो,’ विप्लवले भने, ‘सरकारमा विगतमा बसेका दलहरूबीच नै मतभिन्नता छ, फाटो आएको छ। कोही पनि यो सरकारको पक्षमा खुलेर जिम्मेवारी लिन तयार छैनन्।’
महासचिव विप्लवले देशलाई निकास दिन जेन-जी लगायत सबै उत्पीडित वर्ग, समुदाय र राजनीतिक शक्तिहरूको सहभागितामा नयाँ सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हाम्रो प्रस्ताव छ, यो सरकारलाई खारेज गरेर जेन-जी, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेस, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायी र सबै राजनीतिक शक्तिहरू सहभागी भएको सर्वपक्षीय अन्तरिम सरकार बनाउनुपर्छ।’
उनले उक्त सर्वपक्षीय सरकारले उच्चस्तरीय संविधान सुधार आयोग गठन गर्नुपर्ने, शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक प्रणाली लागू गरेपछि मात्र चुनावमा जानुपर्ने धारणा राखे।
उनले यसो नगरिए देश अर्को विद्रोह वा अराजकतातर्फ धकेलिन सक्ने चेतावनी दिए।
प्रकाशित: २ कार्तिक २०८२ २०:४९ आइतबार





