राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले सर्वसाधारणले दुःखजिलो गरेर सहकारीमा जम्मा गरेको अर्बौं रुपैयाँ ठगी भएको बताएका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक महासचिव न्यौपानेले सहकारी ठगी र संकटग्रस्त अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरे।
काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली जनताले दुःखजिलो गरेर कमाएको र सहकारीमा राखेको अर्बौंको संख्याको पैसा आज ठगी भएको छ। योसँगै देशको अर्थतन्त्र आज डामाडोल अवस्थामा पुगेको छ।’
उनले देश एकातिर आर्थिक संकट र सहकारी ठगीको चपेटामा परेको र अर्कोतिर जलवायु परिवर्तनका कारण भोटेकोशी बाढीबाट १५ सयभन्दा बढी नागरिकको मृत्यु, ५ हजारभन्दा बढी बेपत्ता तथा खर्बौंको सम्पत्ति क्षति भएको भन्दै यसविरुद्ध सबै दलहरू एकजुट हुनुपर्ने बताए।
यस्तै, लडेर ल्याएको गणतन्त्रमाथि समेत गम्भीर खतरा पैदा भइरहेको उल्लेख गर्दै उनले त्रिचन्द्र क्याम्पसमा आफूहरूले गगन थापा र विश्वप्रकाश शर्माहरूसँग मिलेर गरेको संयुक्त आन्दोलनको स्मरण गरे।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी उद्घाटन सत्रमा बोल्दै उनले ऐतिहासिक खुलामञ्चबाट कांग्रेसले सही नीति, विचार र सक्षम नेतृत्व चयन गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा अभिभावकीय भूमिका खेल्न सकोस् भन्दै सफलताको शुभकामना व्यक्त गरे।
प्रकाशित: १८ आश्विन २०८३ १६:०८ आइतबार





