नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरीमाथि राजनीतिक र शक्तिशाली केन्द्रहरूबाट सोधखोज हुने गरेको स्वीकार गरेका छन्।
यद्यपि, उनले त्यस्तो सोधखोजले प्रहरीको अनुसन्धान र परिचालन जस्ता मुख्य काममा भने दबाब नपर्ने गरेको स्पष्ट पारेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले राजनीतिक प्रभाव र दबाबबारे खुलेर आफ्नो धारणा राखेका हुन्।
‘दबाब चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि, दबाबले दबाब कस्तोलाई दिने भन्ने विषय रहन्छ,’ महानिरीक्षक थापाले भने, ‘अहिले जानकारी लिनका लागि सोध्ने चाहिँ चलन छ। त्यो सोधाइ कसैको अलि ठूलो होला, कसैको नरम होला।’
उनले सोधखोज गर्ने व्यक्तिको प्रस्तुति र प्रहरी अधिकारीले त्यसलाई बुझ्ने तरिकाका आधारमा त्यसलाई दबाब वा प्रभावका रूपमा लिन सकिने बताए।
यद्यपि, आफ्नो ३० वर्षे सेवा अवधि र ५ महिनाको आईजीपी कार्यकालमा प्रहरी परिचालन र अनुसन्धानमा सोझै हस्तक्षेप हुने गरी दबाबको अनुभव नगरेको उनले दाबी गरे।
‘त्यस्तो ठूलो दबाब, पुलिस परिचालन गर्न, पुलिसले अनुसन्धान गर्न, त्यसमा दबाब आउने जस्तो चाहिँ मलाई लाग्दैन। मैले पाएको छैन,’ थापाले भने।
उनले प्रहरीलाई आउने वास्तविक दबाब भनेको जनताबाट छिटो-छरितो सेवा प्रवाहको लागि हुने बताए। ‘बरु के चाहिँ आउँछ भन्दाखेरि, त्यो ठाउँमा झगडा परेको छ, पुलिस पुगेन, तत्काल पठाइदिनुपर्यो भन्ने जस्ता कुराहरू आउँछन्,’ उनले भने।
प्रकाशित: ४ भाद्र २०८२ १९:३२ बुधबार





