जेन–जी अभियन्ता भावना राउतले नयाँ राजनीतिक पार्टीहरूमा महिला सहभागिता न्यून भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। आफूहरू उज्ज्वल थापाको राजनीतिक बाटोबाट प्रेरित भएको दाबी गरेका नयाँ राजनीतिक दलहरूले व्यवहारमा भने महिला नेतृत्वलाई अगाडि ल्याउन नसकेको बताउँदै असन्तुष्टि व्यक्त गरेकी हुन्।
नयाँ राजनीतिक दल र व्यक्तिहरूले उज्ज्वल थापाको नाम स्मरण गरे पनि उनको राजनीतिक चेतको अवलम्बन नगरेको राउतको भनाइ छ। उनी भन्छिन्, ‘समान सहभागिता भनेको संविधानले जबरजस्ती दिएको ३३ प्रतिशतको न्यूनतम कोटा मात्रै होइन। यदि वैकल्पिक भनिने पार्टीहरूमा महिला सहभागिता यही सीमामा सीमित हुन्छ भने त्यो नयाँ राजनीति होइन। नयाँ बोतलमा पुरानै जाँड हो।’
उनले महिलाहरू आज पनि निर्णायक तहमा किन पुग्न नसकेको भन्दै पुराना दलसँगको आशा धेरै अघि सकिए पनि नयाँ र वैकल्पिक भनिने शक्तिहरूको अभ्यास पनि उही पुरानै ढर्रामा सीमित भएको बताइन्।
राउतले रवि लामिछानेको टिममा महिला देखिँदैनन्। बालेन, कुलमान र सुदनजस्ता व्यक्तित्वबाट बनेका संरचनाहरूमा पनि महिला उपस्थिति कमजोर छ। देशको जनसंख्यामा महिलाको संख्या बढी हुँदाहुँदै पनि नेतृत्वको टेबलमा महिलाहरू हराइरहनु गम्भीर प्रश्न भएको उनको भनाइ छ।
‘दाजुहरू कस्तो मुलुक बनाउने सपना देखिरहनु भएको हो? समान सहभागिता केवल भाषण र नाराका लागि हो कि व्यवहारमै लागू हुने हो?’ उनले प्रश्न गरिन्।
प्रकाशित: २२ पुस २०८२ ११:५३ मंगलबार





