नेपाली कांग्रेस भक्तपुर नियमित महाधिवेशनको पक्षमा उभिएको छ । जिल्ला पार्टीले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी ७० प्रतिशतभन्दा बढी महाधिवेशन महासमिति सदस्यहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको पाइएको छ ।
सम्मेलनमा जिल्ला सभापति दुर्लभ थापाले नियमित महाधिवेशनको मिति तय नहुँदा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने साथीहरुले अब नियमित महाधिवेशनको मिति आएपछि नियमित महाधिवेशन नै गर्नुपर्ने मत राख्दै हस्ताक्षर गरेको बताए ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिको नेतृत्वमा आयोजित पत्रकार सम्मेलन केवल औपचारिक कार्यक्रम मात्र नभई भक्तपुरको समग्र कांग्रेस संगठनको अनुशासन, विश्वसनीयता र नेतृत्व क्षमताको परीक्षा सरह भएको बताइएको छ ।
‘निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न हुनुपर्ने माग सहित गरिएको यो पत्रकार सम्मेलनले पार्टीभित्रको संस्थागत अभ्यास, लोकतान्त्रिक मूल्य र सहमतिको संस्कृतिप्रति पार्टी नेताहरूको गम्भीर चासो प्रष्ट संकेत गर्दछ’, सम्मेलनमा सभापति थापाले भने ।
कार्यक्रममा सहभागी नेताहरूले भक्तपुर जिल्ला पार्टी समितिलाई अब ढिलाइ नगरी स्पष्ट निर्णयमा पुग्नुपर्ने, आन्तरिक मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्दै महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
प्रकाशित: २१ पुस २०८२ १५:१५ सोमबार





