नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले भदौ २४ गते भएको घटनालाई साम्राज्यवादी शक्तिहरूले रचेको योजनाबद्ध प्रपञ्च भएको दाबी गरेका छन् ।
बुधबार पोखरामा आयोजित नेकपा गण्डकी प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले उक्त घटनालाई प्रतिगमनको निरन्तरता र कम्युनिष्ट शक्तिलाई कमजोर पार्ने सुनियोजित प्रयासको संज्ञा दिएका हुन् । दाहालले तत्कालीन आन्दोलनका क्रममा देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने प्रयास भएको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपाली राजनीतिक परिवर्तनलाई प्रभावित पार्न खोजेको आरोप लगाए ।
दाहालले जनयुद्धपछि शान्ति प्रक्रियामा प्रवेश गर्ने चरणमा समेत बाह्य शक्तिहरू नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने रणनीतिमा रहेको दाबी गरे । “त्यतिबेला पनि हामीलाई समाप्त पार्ने षड्यन्त्र थियो, अहिले पनि उही शक्तिहरू राष्ट्र र जनतामाथि प्रहार गरिरहेका छन्,” उनले भने ।
उनले भदौ २४ को घटनापछि देश असाधारण परिस्थितिबाट गुज्रिएको स्मरण गर्दै त्यसबेला देशलाई थप दुर्घटनामा जान नदिन निर्वाचनको विकल्प स्वीकार गरिएको बताए । निर्वाचनलाई राजनीतिक दलका लागि मात्र नभई राष्ट्रिय संकट टार्ने माध्यमका रूपमा लिइएको उनको भनाइ थियो ।
दाहालले पछिल्लो निर्वाचन परिणामप्रति समेत आशंका व्यक्त गर्दै कतिपय स्थानमा अस्वाभाविक र अविश्वसनीय नतिजा आएको टिप्पणी गरे । यद्यपि, उनले निर्वाचन परिणाम स्वीकार गरिसकेको स्पष्ट पारे ।
उनले अहिले देश गम्भीर संकटमा रहेको दाबी गर्दै राष्ट्रिय मुक्ति आन्दोलनको आवश्यकता औँल्याए । आगामी महाधिवेशनमार्फत पार्टीभित्र वैचारिक विकास, रणनीतिक पुनर्गठन र रूपान्तरणको प्रक्रिया अघि बढाइने बताउँदै पार्टीलाई नयाँ ढंगले अगाडि लैजान सबै नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गरे ।
प्रकाशित: १७ असार २०८३ २०:२७ बुधबार





