चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना पत्र पठाएको छ।
सीपीसीले मंगलबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको प्रशंसा गर्दै उनीहरूको अगुवाइमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेको हो।
रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालका अनुसार सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको पत्रमा दुई राजनीतिक शक्तिबीचको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरिएको छ।
पत्रमा नेपाल र चीनबीचको राजनीतिक आपसी विश्वासलाई थप मजबुद बनाउँदै दुवै देश र जनताको हितका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने चिनियाँ संकल्प दोहोर्याइएको छ।
पत्रमा रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परतासमेत सीपीसीले देखाएको छ।
लामिछाने र शाहको नेतृत्वदायी भूमिकामा नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धले थप प्रगाढ रूप लिने चिनियाँ पक्षको भनाइ छ।
चिनियाँ कम्युनिस्ट पार्टीको सन्देशलाई स्वागत गर्दै रास्वपाले आफ्नो स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रतिको अडान स्पष्ट पारेको छ।
पार्टीले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्ने जनाउँदै सीपीसीले व्यक्त गरेको शुभेच्छा र ऐक्यबद्धताका लागि धन्यवाद ज्ञापन गरेको छ।
प्रकाशित: ३ चैत्र २०८२ १९:४१ मंगलबार





