१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

झरनामा पानी बढेपछि बेंसीशहर–चामे सडक अवरुद्ध

अविरल वर्षाका कारण लमजुङ-मनाङ जोड्ने बेंसीशहर चामे सडक अवरुद्ध भएको छ।

लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँ-ठाउँमा सडक माथिबाट ढुङ्गाहरु झर्ने बढेपछि दिउँसोदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले पानी निरन्तर परेपछि सो अक्टोपस झरना पार गरेर कुनै पनि सवारीसाधन चल्नसक्ने अवस्था नरहेको बताए।

सो स्थानमा प्रहरी परिचालन गरिएको र झरनाको पानी कम र ढुङ्गा खस्न रोकिएपछि मात्रै सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि बीचबाटोमै सवारीसाधन तथा यात्रुहरु रोकिएका छन्। यतिबेला मनाङ घुम्न गएर फर्किने पर्यटकको भीड रहेको भए पनि बाटो अवरुद्ध भएपछि पर्यटकदेखि स्थानीयलाई समस्या भएको छ।

यस सडकमा दर्जनौँ जिपदेखि अन्य सवारी साधन सञ्चालन हुँदै आएको छ। पानी निरन्तर रूपमा परिरहेकाले सडक तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ।

सडकमा यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीयदेखि हिमाली जिल्ला मनाङवासीहरु बढी प्रत्यक्ष मर्कामा पर्ने गरेको छ। ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ १६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App