२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सांसद्को मर्यादामा प्रश्न उठ्यो भन्दै अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादामा प्रश्न उठेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले मन्त्रीको अभिव्यक्ति ‘हेप्ने शैलीको’ भएको संकेत गर्दै संसद र समितिको गरिमा कायम राख्नुपर्ने बताए । उनले कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध मर्यादित हुनुपर्ने उल्लेख गरे ।

आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर पुनले लेखा समितिकै ध्यानाकर्षण गराए ।

उनले भने, ‘संसद र संसदीय समिति मिनी पार्लियामेन्ट हो । यहाँ सांसदहरूको मर्यादा कायम हुनुपर्छ । मन्त्रीज्यूहरूले सांसदहरूलाई हेप्ने शैलीमा बोल्नु उचित हुँदैन । यदि पुरानाले गरेकै आधारमा अहिले पनि त्यस्तै गर्ने हो भने छानबिन गरौँ । म तयार छु । दोष प्रमाणित भए कारवाही भोग्न तयार छु ।’

उनले बजेट निर्माण प्रक्रिया र आर्थिक निर्णयहरूबारे पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै विगतका नीति तथा निर्णयहरूको समेत पुनरावलोकन गर्न सकिने धारणा राखे । पुनले समितिलाई आर्थिक अनुशासन र जवाफदेहिताको प्रमुख संरचना भन्दै विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए ।

प्रकाशित: २९ जेष्ठ २०८३ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App