१ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

पार्टी सदस्य एक करोड पुर्‍याउने वामदेवको दाबी

तस्बिर: विजय राई/नागरिक

नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा आधारित बनाउन सकिएमा सदस्य संख्या एक करोड पुर्‍याउन सकिने दाबी गरेका छन्।

उनले नेता-कार्यकर्ताहरू पुँजीपतिसँग चन्दा मागेर होइन, आफैँले श्रम गरेर कमाएको पैसाले आफ्नो जीविका चलाउने प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिए।

बुधबार कम्युनिष्ट घटकहरूको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता गौतमले संविधानमा लेखिएको समाजवाद निर्माणको बाटोमा पार्टीहरू नहिँडेका कारण नयाँ शक्तिहरू (जेन-जी) र पुराना शक्तिहरू (राजावादी) सलबलाएको टिप्पणी गरे।

गौतमले संविधानमा लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवाद निर्माण गर्ने लेखिएको तर व्यवहारमा त्यसविपरीत काम भएको भन्दै नेतृत्वको आलोचना गरे।

उनले भने, ‘संविधान जारी भएको कति वर्ष भयो ? हामी कतिपटक प्रधानमन्त्री भयौँ, कतिपटक बनायौँ ? तर संविधानले व्यवस्था गरेको समाजवाद निर्माण किन भएन ?’

उनले थपे, ‘संविधानमा एउटा लेख्ने, त्यो लागु नगर्ने, अनि संविधानमा नलेखिएको समाजवादी क्रान्तिको कुरा गर्ने ? यही कारणले राजा फर्किने घटना घट्यो, जेन-जी आयो।’

नेता गौतमले पार्टी सञ्चालनको वर्तमान आर्थिक मोडलमाथि प्रश्न उठाउँदै यसलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने प्रस्ताव राखे। ‘पुँजीपतिहरूसित गएर चन्दा माग्ने अनि पार्टी चलाउने ? यस्तो हुँदैन,’ उनले भने, ‘अब यो पार्टीले सुरु गर्नुपर्छ, हामी उत्पादनमा आधारित पार्टी निर्माण गर्छौं।’

उनले आफ्नो प्रस्तावलाई व्याख्या गर्दै भने, ‘प्रत्येक नेताले, प्रत्येक कार्यकर्ताले कुनै न कुनै उत्पादन संरचनामा वर्षमा एक महिना वा महिनामा सात दिन काम गर्नुपर्छ। काम गरेबापत ज्याला लिनुपर्छ र त्यही ज्यालाले आफ्नो घर खर्च चलाउनुपर्छ।’

यदि पार्टीले यस्तो उत्पादनमा आधारित र श्रमजीवी चरित्र अपनाएमा जनताको विशाल हिस्सा पार्टीमा जोडिने उनको दाबी थियो।

‘अहिले हामीसँग १०-१२ लाख पार्टी सदस्य छन्,’ गौतमले भने, ‘जनताको बिचमा गयौँ भने छ महिनामा त्यो बढेर २० लाख पुग्नेछ, एक वर्षमा ५० लाख पुग्नेछ र अन्ततः पार्टी सदस्यको संख्या एक करोड पुग्नेछ।’

उनले पार्टी र कार्यकर्ताको जीवनयापनको स्रोत जनता, सदस्य र आफ्नै श्रम हुनुपर्ने बताउँदै त्यसका लागि ७५३ पालिकामा बजार विकास र प्रत्येक वडामा उत्पादन समूह निर्माण गर्न सकिने खाका प्रस्तुत गरे।

साथै, उनले देशमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित: १९ कार्तिक २०८२ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App