फागुन २१ को निर्वाचन आउन १३ दिन बाँकी हुदा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख तेइस हजार मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरिएको हो। निर्वाचन नजिक आएसगैं शुक्रबारसम्ममा सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी कार्य सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा ढुवानी कार्य जारी छ। मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको छ।
मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आयोगले तोकेको क्यालेन्डर अनुसार २०८२ पुस २२ गतेदेखि मतदाता शिक्षा प्रयोजनका लागि सुरु गरिएको थियो।
निर्वाचनको मिति घोषणा भएपछि पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म दुई करोड आठ लाख तीस हजार मतपत्र छपाइ सम्पन्न गरिएको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १७:१० शुक्रबार





