२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बालेन मौन बसे पनि रवि सक्रिय, सुनसरी–मधेसको अवस्था छलफल गर्न बोलाए रास्वपा सांसदको आकस्मिक बैठक

सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव र मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको असहज अवस्थाका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सक्रिय बनेका छन्।

प्रधानमन्त्री बालेन शाहबाट सार्वजनिक रूपमा कुनै प्रतिक्रिया वा राजनीतिक पहल नदेखिएको अवस्थामा लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूको आकस्मिक बैठक बोलाएका हुन्।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीबार अपराह्न पौने ५ बजेदेखि बस्ने बैठकमा सुनसरी घटनापछि विकसित सुरक्षा अवस्था, मधेश क्षेत्रमा देखिएका चुनौती तथा पार्टीको आगामी भूमिकाबारे छलफल हुने जनाइएको छ।

रास्वपा संसदीय दलका अनुसार सभापति लामिछानेले सबै सम्बन्धित सांसदलाई ‘विशेष निर्देश’ सहित अनिवार्य उपस्थितिका लागि सर्कुलर गरेका छन्। बैठकमा सांसदहरूलाई आवश्यक मार्गदर्शन, निर्देशन र अपिल गर्ने कार्यक्रम रहेको बताइएको छ।

सुनसरीमा हालै भएको घटनाले कोशी प्रदेशको सुरक्षा अवस्था संवेदनशील बनेको छ भने मधेश प्रदेशका केही जिल्लामा पनि सामाजिक सद्भाव र शान्ति–सुरक्षाप्रति चासो बढिरहेका बेला रास्वपाले प्रदेशगत अवस्थाको समीक्षा गर्दै आवश्यक राजनीतिक धारणा तय गर्न बैठक बोलाएको हो।

प्रकाशित: १४ श्रावण २०८३ १७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App