३ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

बालेन-रवि मित्रता: हामी मिलेका छौँ भन्ने पटक पटकको स्पष्टीकरण किन ?

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सम्बन्धमा चिसोपना आएको चर्चा चलिरहेका बेला लामिछानेले त्यसको सार्वजनिक रूपमै खण्डन गरेका छन्। बरु सञ्चारमाध्यममा आएका समाचारले आफूहरूलाई अझ नजिक बनाएको उनको दाबी छ।

रास्वपाको संसदीय दलको आन्तरिक छलफलपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बालेनसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई अस्वीकार गरे। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिलाई लिएर सत्ता समीकरणभित्र असन्तुष्टि र दूरी बढेको चर्चा भइरहेका बेला लामिछानेले त्यसको राजनीतिक अर्थ खोज्न आवश्यक नभएको बताए।

‘दुईजनाबीच झगडा पर्‍यो भनेर लेख्नुहुन्छ, हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ,’ लामिछानेले भने।

उनको यो अभिव्यक्ति सामान्य खण्डनभन्दा पनि राजनीतिक रूपमा अर्थपूर्ण देखिन्छ। किनकि पछिल्लो समय बालेन नेतृत्वको सरकारको कार्यशैली, मन्त्रीहरूको भूमिकादेखि संसदमा रास्वपाका सांसदहरूको प्रस्तुतिसम्म विभिन्न विषयमा प्रश्न उठिरहेका छन्। त्यसमाथि प्रधानमन्त्री शाहकै ‘एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिले सरकारभित्रै वा सत्ता साझेदारबीच केही असहजता पैदा भएको हो कि भन्ने अड्कलबाजीलाई थप बल दिएको थियो।

तर लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक संकेतका रूपमा व्याख्या नगर्न आग्रह गरेका छन्। बालेन कवि तथा कलाकार पनि भएकाले उनका अभिव्यक्तिलाई साहित्यिक संवेदनाका रूपमा पनि बुझ्नुपर्ने उनको तर्क छ।

‘प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हुनुहुन्छ । यत्रो भीडमा पनि कहिलेकाहीँ एक्लो महसुस हुन सक्छ । हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन,’ लामिछानेले भने।

किन आयो स्पष्टीकरण ?

रवि लामिछानेको पछिल्लो अभिव्यक्तिको मुख्य कारण बालेनसँगको सम्बन्धबारे बढिरहेको सार्वजनिक चासो र त्यसले सत्ता समीकरणमाथि पार्न सक्ने प्रभाव देखिन्छ। दुई नेताबीचको सम्बन्धमा आएको भनिएको दूरी केवल व्यक्तिगत सम्बन्धको विषय नभई वर्तमान राजनीतिक समीकरणको स्थायित्वसँग जोडिने भएकाले पनि लामिछानेले त्यसबारे स्पष्ट पार्न खोजेको देखिन्छ।

बालेन नेतृत्वको सरकारमा रास्वपाको महत्वपूर्ण राजनीतिक भूमिका छ। यस्तो अवस्थामा प्रधानमन्त्री र सत्तारूढ दलका सभापतिबीच मतभेद बढेको सन्देश जानु सरकारको स्थायित्व र राजनीतिक विश्वसनीयताका लागि सहज हुँदैन। त्यसैले लामिछानेले ‘सम्बन्ध बिग्रिएको छैन’ भन्ने सन्देश सार्वजनिक रूपमा दिन खोजेको देखिन्छ।

अर्कोतर्फ, प्रधानमन्त्रीको ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने स्टाटसले सरकारभित्रै आफूले अपेक्षित राजनीतिक साथ नपाएको संकेत गरेको हो कि भन्ने प्रश्न उठेको थियो। दुई–तिहाइ बहुमतको सरकारका प्रधानमन्त्रीले आफूलाई ‘एक्लो’ महसुस गरेको आशय दिने अभिव्यक्ति दिएपछि त्यसको राजनीतिक अर्थ खोजिनु स्वाभाविक पनि थियो।

यही अवस्थामा लामिछानेले प्रधानमन्त्रीलाई ‘एक्लो नभएको’ भन्दै आफू र आफ्नो पार्टी पूर्ण रूपमा साथमा रहेको सन्देश दिन खोजेका छन्।

‘म यहीँ सँगै उभिएको छु, सिङ्गो पार्टी यहीँ सँगै छ । उहाँ कहाँ एक्लो हुनुहुन्छ ?’ उनको प्रतिप्रश्नले पनि यही सन्देश दिन्छ।

रास्वपाभित्रै प्रश्न

रविको अभिव्यक्तिलाई केवल बालेनसँगको सम्बन्धको स्पष्टीकरणका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। सोही दिन रास्वपाभित्र संसदमा सांसदहरूको प्रस्तुति, सरकार र मन्त्रीहरूको कार्यशैली तथा पार्टी पंक्तिभित्रका असन्तुष्टिबारे समेत छलफल भएको उनले बताएका छन्।

लामिछानेले सांसदहरूले बोल्दा कहिलेकाहीँ विवाद हुने र त्यसलाई पार्टीले सम्हालेर अघि बढ्ने बताएका छन्। संसदमा पार्टीको प्रस्तुति आम नागरिकस्तरबाट समेत प्रश्नको विषय बनेकाले आन्तरिक समीक्षा गरिएको उनको भनाइ छ।

यसले रास्वपाभित्र पनि सरकारको कार्यसम्पादन र आफ्ना सांसदहरूको भूमिकाबारे समीक्षा सुरु भएको संकेत गर्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको सन्देश बाहिर जान नदिनु लामिछानेका लागि राजनीतिक रूपमा आवश्यक देखिन्छ।

सरकारमा सहभागी दल र प्रधानमन्त्रीबीच दूरी बढेको चर्चा चर्किँदा त्यसको प्रत्यक्ष असर सरकारको लोकप्रियता, राजनीतिक स्थायित्व र आगामी निर्णय प्रक्रियामा पर्न सक्छ। त्यसैले लामिछानेले सार्वजनिक रूपमा बालेनको प्रतिरक्षा गरेर सत्ता साझेदारीमा तत्काल कुनै संकट नरहेको सन्देश दिन खोजेका हुन सक्छन्।

समाचारले नजिक ल्यायो भन्नुको अर्थ

लामिछानेले प्रयोग गरेको ‘तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ’ भन्ने वाक्य आफैंमा राजनीतिक सन्देश बोकेको छ। यसले बालेन र रविबीच दूरी बढेको भन्ने समाचारलाई उनले अस्वीकार मात्र गरेका छैनन्, त्यस्ता समाचारले दुई नेताबीच संवाद र सहकार्य थप बढाएको दाबीसमेत गरेका छन्।

यदि सम्बन्धमा कुनै समस्या नै छैन भने प्रधानमन्त्रीले किन ‘एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्ति दिनुपर्‍यो ? रास्वपाका सांसदहरूको अभिव्यक्ति तथा सरकारको कामकारबाहीबारे पार्टीभित्र किन समीक्षा गर्नुपर्‍यो ? अनि पार्टी सभापति आफैँले औपचारिक रुपमा बोल्दा प्रत्येक पटक दूरी बढेको छैन, सरकार पार्टीकै अधिनमा छ, पार्टीले सरकार चलाउँछ भन्दै स्पष्टीकरण दिनुपर्‍यो ?

यी प्रश्नको स्पष्ट उत्तर लामिछानेले दिएका छैनन्। उनले बरु प्रधानमन्त्रीको अभिव्यक्तिलाई साहित्यिक भावनाका रूपमा बुझ्न आग्रह गरेका छन्।

राजनीतिमा शब्दको अर्थ केवल शब्दमा सीमित हुँदैन। विशेषगरी प्रधानमन्त्रीजस्तो उच्च राजनीतिक जिम्मेवारीमा रहेको व्यक्तिको सार्वजनिक अभिव्यक्तिले स्वाभाविक रूपमा राजनीतिक अर्थ बोकेको हुन्छ। त्यसैले बालेनको स्टाटसलाई लिएर प्रश्न उठ्नु अस्वाभाविक थिएन।

तर लामिछानेको पछिल्लो अभिव्यक्तिले कम्तीमा तत्कालका लागि बालेन–रवि सम्बन्धमा दरारको सन्देश बाहिर जान नदिने प्रयास गरेको देखिन्छ। सत्ता समीकरण बनेको चार महिना पूरा भएर पाँचौँ महिनामा प्रवेश गरिरहेको अवस्थामा दुवै पक्षले सार्वजनिक रूपमा एकअर्काको बचाउ गर्नु सरकारभित्रको राजनीतिक सन्तुलन कायम राख्ने प्रयासका रूपमा समेत बुझ्न सकिन्छ।

अहिलेको सभापतिको सन्देश भने बालेन एक्ला छैनन्, रास्वपा साथमै छ। र रवि–बालेन दूरी बढेको होइन, झन् नजिकिएको भन्ने नै छ ।  

तर यो निकटता सार्वजनिक अभिव्यक्तिमा मात्र सीमित हो कि सरकार सञ्चालन, नीति तथा निर्णय प्रक्रियामा पनि भन्ने चाहिँ रास्वपा र सरकारको साझेदारी, पार्टीका आन्तरिक गतिविधिमा प्रधानमन्त्रीको साथ सहयोग, संसद्‌मा सत्तापक्ष नै प्रतिपक्षका रुपमा उपस्थित नभए सरकारका कामको तारिफ गरेमात्र स्पष्ट देखिनेछ ।

प्रकाशित: ३ भाद्र २०८३ १७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App