एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि मात्र महानगरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेको तर अहिले भारत भ्रमणमा सीमा विवादबारे शब्दै उच्चारण नगरेको बताएका छन्।
बिहीबार राजधानीमा सम्पादकहरूसँग अनौपचारिक संवाद गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी गरे।
भ्रमणमा जानुअघि बालेनले पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न पार्टीलगायत सरोकारवालासँग संवाद नगरेको र २५ घण्टाका लागि गएर तुरुन्त फर्किएकाले राष्ट्रहितका एजेन्डामा गहिरो संवाद हुने अवसर गुमेको उनले बताए।
‘प्रधानमन्त्री जाँदा उहाँसँग सिंगै राष्ट्र जानुपर्ने हो, तर त्यो उहाँको निजी भ्रमणजस्तो हुन पुग्यो,’ ओलीले भने, ‘प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन। जेजति भए, ती विगतमै भइसकेका विषयका निरन्तरता मात्रै हुन्।’
विगतमा जनकपुरमा दिन्छु भनेको र भूकम्पपछिको पुनर्निर्माणमा दिन्छु भनेको सहायता नै नआएकाले यसपल्ट पनि आर्थिक तथा विकास सहायता आउँछ भनेर मख्ख नपर्न ओलीले सचेत गराए।
उनले ईपीजीका विषयमा सरकारले अनुचित ढंगले अडान छाडेको भन्दै आलोचना गरे। ईपीजी दुई देशका सरकारले सीमालगायत धेरैवटा विषयमा अगाडि जान समझदारीपूर्वक गरेको निर्णय भए पनि अहिले त्यसलाई बीचैमा असान्दर्भिक घोषणा गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए।
ओलीले आफू पोहोर भदौमा संवैधानिक ढंगले नभई हुल्लडबाजहरूबाट अपदस्थ गरिएको बताए। उनले अमेरिकाको रक्षा तथा सुरक्षा रणनीतिसम्बन्धी कार्यक्रम एसपीपीको मस्यौदा तयार पारेर हस्ताक्षर गर्न तयार रहेका बेला आफूले असफल पारिदिएको दाबी गरे।
यद्यपि, त्यो कसरी तयार भयो र कसरी रोकियो भन्नेबारे उनले प्रस्ट पारेनन्। अनौपचारिक संवादका क्रममा ओलीले आफ्ना कुनै पनि अभिव्यक्ति गोप्य नरहने र त्यसैका कारण आफू नकारात्मक चित्रण गरिने पात्रका रूपमा परिचित रहेको बताए।
प्रकाशित: १० मंसिर २०८३ १७:४२ बिहीबार





