७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

बालेन बाहिर हल्ला गरिएजस्तो हुनुहुन्न, असाध्यै सहज हुनुहुन्छ: मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री बालेन्द्र शाह बाहिर हल्ला गरिएजस्तो नभई अत्यन्तै सहज र सौहार्दपूर्ण रहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

करिब तीन घण्टा चलेको छलफलपछि मुख्यमन्त्री बानियाँले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारको प्रशंसा गरे।

‘बाहिर जसरी उहाँले चस्मा नै खोल्नुहुन्न भन्ने हल्ला थियो, उहाँले एकदम चस्मा खोलेर आरामसँग कुरा गर्नुभयो,’ बानियाँले भने, ‘जे सुनिएको थियो त्यो देखिएन, जे देखियो एकदम सौहार्दपूर्ण वातावरणमा कुरा भयो।’

भेटमा मुख्यत: तीन तहका सरकारबीचको समन्वय, प्रदेशका आर्थिक चुनौती र जनजीविकाका सवालमा छलफल भएको मुख्यमन्त्री बानियाँले जानकारी दिए।

शिक्षा र स्वास्थ्यमा गरिबको पहुँच सुनिश्चित गर्न आफूले राखेको प्रस्तावमा प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए।

‘गरिबले शिक्षा र उपचार नपाएर मर्नु नपरोस् भनेर मैले सबै निजी अस्पताल र निजी विद्यालयमा १० प्रतिशत बेड र बेन्च गरिबका लागि निःशुल्क गर्नुपर्ने प्रस्ताव राखेँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले यसलाई प्रभावकारी ढंगले लागू गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’

छलफलका क्रममा मुख्यमन्त्री बानियाँले प्रदेशले भोगिरहेको बजेट कटौतीको समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

संघीय सरकारबाट आउने समानीकरण, ससर्त र विशेष अनुदान विगतमा ५० देखि १०० करोडसम्म हुने गरेकोमा अहिले ३० करोडमा झरेको भन्दै उनले प्रदेशका गौरवका योजनाहरू अघि बढाउन केन्द्र सरकारको सहयोग र समन्वय आवश्यक रहेको सुनाए।

यसैगरी, पूर्वाधार विकासतर्फ कान्ति लोकपथ, कुलेखानी ड्याम र दक्षिणकाली–सिस्नेरी सडक खण्डको स्तरोन्नतिका विषयमा पनि छलफल भएको छ।

बिपी राजमार्ग बन्द हुँदा ‘लाइफलाइन’ बन्ने मधेस र कोसी प्रदेश जोड्ने उक्त छोटो सडकलाई बर्खाअघि नै व्यवस्थित गर्न प्रधानमन्त्रीले विशेष चासो राखेको बानियाँले जानकारी दिए।

उनले आगामी सिजनसम्म उक्त बाटो पूर्ण रूपमा बन्ने र अहिले पनि सवा दुई घण्टामै सिस्नेरीबाट काठमाडौं आइपुग्न सकिने अवस्था रहेको बताए।

प्रदेश सरकारको प्रशासनिक अस्थिरताबारे बोल्दै बानियाँले केन्द्रबाट पठाइने प्रमुख सचिव र सचिवहरूलाई कम्तीमा एक वा दुई वर्षको निश्चित अवधि तोकेर पठाउन प्रधानमन्त्रीसँग माग गरेका छन्।

छिटो–छिटो सचिव फेरिँदा प्रदेशले गति लिन नसकेको र नियम कानुन कार्यान्वयनमा समस्या भएको उनको गुनासो थियो।

पूर्वप्रधानमन्त्रीहरूसँगको तुलनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा मुख्यमन्त्री बानियाँले वर्तमान सरकार अत्यन्तै सकस र संकटपूर्ण अवस्थामा बनेकाले विगतसँग तुलना गर्न नमिल्ने बताए।

प्रकाशित: ३ वैशाख २०८३ २०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App