भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका ११ जना उम्मेदवारले जमानत गुमाएका छन् । प्रत्यक्षतर्फ खसेर गणना गर्दा सदरमध्ये १० प्रतिशत हिस्सा मत सुरक्षित गर्न नसक्ने उम्मेद्वारको जमानत जफत भएको हो ।
प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल मतदाता संख्या प्रत्यक्षतर्फ १ लाख ४७ हजार १ सय २० रहेकोमा ६२ हजार ५ सय ६६ मत खसेको थियो । जसमध्ये गणना गर्दा ३ हजार ९ सय २८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५८ हजार ६ सय ३८ मत सदर भएकोमा निर्वाचन ऐन अनुसार सदर मतको १० प्रतिशत हिस्सा ल्याउन नसक्ने ११ उम्मेद्वारको जमानत गुमेको हो ।
जमानत जफत हुने उम्मेद्वारहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालका सुनिल चामलिङ, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल छन् । त्यसैगरि मङ्गोल नेशनल अर्गनाइजेशनका प्रयाग राई, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राई, मितेरी पार्टी नेपालका केशरमान चामलिङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकी (शैलेस), जनता समाजवादी पार्टीका राकेश राई तथा स्वतन्त्र उम्मेदवारहरु तीलकचन्द्र राई र डा. राजकुमार राई छन् ।
खोटाङ १६ हजार ६ सय १२ मत ल्याउँदै हर्क सामपाङ नेतृत्वको श्रम सँस्कृति पार्टीका उम्मेद्वार आरेन राई विजयी भए । श्रम संस्कृति पार्टीका महासचिवसमेत २९ वर्षीय नवनिर्वाचित सांसद राई जिल्लाको केपिलासगढी गाउँपालिका १ फेदीस्थित सुम्देका स्थायी बासिन्दा हुन् । दोस्रो मत नेपाल कम्युष्टि पार्टी (एमाले) खोटाङका अध्यक्षसमेत रहेका देवबिक्रम राईले पाए । उनले विजेता राईभन्दा ३ हजार ८ सय ९८ कम मत अर्थात १२ हजार ७ सय १४ प्राप्त गरे ।
तेस्रो स्थान पाएका नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७ मत पाए भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि रोकाले ९ हजार ४ सय ४३ मतमा सीमित रहन पुगे । १३ राजनीतिक दल र २ स्वतन्त्रसहित १५ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेको खोटाङमा पुरान दलहरु कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा हुदा नयाँ शक्ति श्रम संस्कृतिले बाजी मार्न सफल भएको हो ।
खोटाङमा समानुपातितर्फको मत भने श्रम संस्कृति पार्टीले धेरै ल्याएको छ । श्रम संस्कृति पार्टी १८ हजार १ सय ३७ मत प्राप्त गर्दै पहिलो हुँदा कांग्रेसलाई ११ हजार ३ सय ८५ मत प्राप्त भयो । ०७९ को अघिल्लो चुनावमा २४ हजार २ सय ७१ मत पाएर जिल्लामा ठूलो पार्टीको इतिहास रचेको एमाले यो चुनावमा समानुपातिकतर्फ १० हजार ७ सय ५ मतमा सीमित भएको छ ।
प्रत्यक्षतर्फ देशभर १ सय २५ सीट जितेर सबैभन्दा ठूलो दलमा दरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ भने चौथो स्थान पाएको छ । जिल्ला निर्वाचन अधिकारी रविन मगरका अनुसार रास्वपालाई ८ हजार ८ सय ७९ मत परेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ७ हजार २ सय ७४ मतका साथ पाँचौ दल भएको छ ।
प्रत्यक्षतर्फ जमानत गुमाउन पुगेका दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सय ३७ मत पाउँदा राष्ट्रिय परिवर्तन पार्टीले १ हजार २ सय ४४, जनता समाजवादीले २ सय २, विप्लव नेतृत्वको नेकपा (माओवादी)ले ९५, जसपा नेपालले ७२, नेमकिपाले ३७ मत पाएको हाकिम मगरले बताए ।
खोटाङमा समानुपातिकतर्फ १ लाख ४८ हजार ४ सय १९ मतदाता रहेकोमा ६३ हजार २ सय ५७ मत खसेको कार्यालयले जनाएको छ । जसमा ६० हजार १ सय मत सदर भयो भने ३ हजार १ सय ५७ मत बदर भएको हाकिम मगरले बताएका छन् ।
यसैबीच नवनिर्वाचित सांसद आरेन राईलाई जिल्लाबासीको तर्फबाट बधाई ज्ञापन गरिएको छ । जिल्ला समन्वय समिति खोटाङले एक कार्यक्रमको आयोजना गरि सांसद राईलाई बधाई दिएको हो । सदरमुकाम दिक्तेलस्थित समन्वय समितिको कार्यकक्षमा आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सनबहादुर राई, निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री रामकुमार राई (पासाङ)लगायतले सांसद राईलाई बधाई दिँदै जिल्लाको जल्दो बल्दो समस्याबारे संसदमा आवाज बुलन्द गर्न सुझाएका थिए ।
प्रकाशित: ३० फाल्गुन २०८२ २०:४५ शनिबार





