लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ।
प्रदेशका उपसभामुख अप्सरा चापागाईका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ। प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताए।
राजनीतिक दलका नेताहरूसँग परामर्श भइरहेको र उनसँगको परामर्श पश्चात् प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईको भनाइ छ।
सम्भवतः कात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताए। प्रदेशसभाको सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभा हलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ।
तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभा हलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो। जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
‘अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ,’ सचिव पौडेलले भने, ‘सो सभा हलमा रङ लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम पनि तीव्र रूपमा भइरहेको छ।’ सम्भवतः छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उनको भनाइ छ। हाल सो सभा हलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङरोगनको काम अघि बढाएको छ।
बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए। आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्यूटरबाट काम सुरु गरिएको उनले बताए। रासस
प्रकाशित: ९ कार्तिक २०८२ १३:०६ आइतबार





