९ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, विपक्षी दलको बहिष्कार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै ५७ सांसदले उनको पक्षमा मतदान गरेका हुन्।

प्रदेशसभाको कुल ११० सदस्य संख्यामध्ये सरकारलाई विश्वासको मतका लागि ५३ मत आवश्यक थियो। तर विपक्षी दलहरूको बहिष्कारका कारण मतदानमा सत्तारूढ दलका सांसद मात्रै सहभागी भएका थिए।

मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ सांसद सहभागी भएनन्। सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसदसमेत बैठकमा अनुपस्थित रहे।

मतदानमा राप्रपाका ७, नेकपाका २६ र नेकपा एमालेका २५ सांसद सहभागी भए। एमालेबाट उपसभामुखसहित २६ सांसद रहे पनि उपसभामुखले मत विभाजनमा सहभागी नभएकाले एमालेका २५ सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरे।

विपक्षी दलका सांसदहरू बैठकमा अनुपस्थित रहेकाले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा वा तटस्थमा कुनै मत परेन।

मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको सरकारका प्रमुखका रूपमा धारा १६८ को उपधारा (४) अनुसार विश्वासको मत लिएका हुन्।

यसअघि मंगलबार नै मुख्यमन्त्री थापासहित नेकपा एमाले, नेकपा र राप्रपाबीच प्रदेश सरकार सञ्चालनका लागि ६ बुँदे सहमति भएको थियो। सहमतिमा ८ वटा मन्त्रालय नबढाउने गरी भागबन्डा गर्ने, नेकपाबाट सभामुख चयन गर्ने, न्यूनतम साझा कार्यक्रम बनाउने तथा सरकार सञ्चालनका लागि संयन्त्र गठन गर्नेलगायत विषय समेटिएका छन्।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री थापा नेतृत्वको प्रदेश सरकारलाई तत्कालका लागि राजनीतिक स्थायित्व प्राप्त भएको छ।

प्रकाशित: ९ भाद्र २०८३ १९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App