बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नेतृत्वको नयाँ सरकारमा ६ जना नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।
विस्तारित मन्त्रिपरिषद्मा सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, संसदीय दलका उपनेता गिरबहादुर तामाङको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी भएको छ।
राप्रपाबाट गिरबहादुर स्वास्थ्य तथा सामाजिक विकास, राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात र राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन्। अर्का मन्त्री ज्ञानबहादुर तामाङले भने विनाविभागीय मन्त्रीको शपथ लिएका छन्।
प्रदेश सभामा कुनै पनि एकल दलको स्पष्ट बहुमत नरहेको अवस्थामा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन जुटाएर बहुमतको आधार प्रस्तुत गरेपछि प्रदेश प्रमुखले थापामगरलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
सोही गठबन्धनअनुसार मन्त्रिपरिषद् विस्तार गरिएको हो।
प्रकाशित: ४ भाद्र २०८३ १८:१४ बिहीबार


-600x400.jpg)
-600x400.jpg)

