नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले हाल मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको भन्दै सरकार निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बादलले बालेन्द्र सरकारले छोटो समयमै निरङ्कुशताका सबै कीर्तिमान तोडेको दाबी गरे।
बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १८२ सिटको बहुमत काँचको घर भएको बताउँदै अहङ्कार प्रदर्शन नगर्न चेतावनी दिए।
‘रास्वपाका आदरणीय मित्रहरूलाई १८२ तले काँचको घरमा बसेर अहङ्कार र उत्ताउलोपन प्रदर्शन नगर्न तथा प्रतिपक्षी नागरिकमाथि ढुङ्गा प्रहार नगर्न विनम्र आग्रह गर्दछु,’ बादलले भने, ‘हेक्का रहोस्, यो सिसाको घर तपाईंहरूको रगत-पसिनाको जगमा उभिएको छैन। जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन्, यो गर्ल्यामगुर्लुम ढल्नेछ र चकनाचुर हुनेछ।’
उनले बालेन्द्र सरकार लोकतन्त्रको सुदृढीकरणका लागि नभई केवल प्रतिशोध साँध्न बनेको टिप्पणी गरे। पूर्वप्रधानमन्त्री सुशीला कार्कीको निष्कर्ष स्मरण गर्दै उनले भने, ‘बालेन्द्र सरकार केवल केपी ओली अर्थात् लोकतन्त्रको विरोध गर्न बनेको हो।’
त्यस्तै, रास्वपा सांसद डा. अमरेश सिंहको भनाइ उद्धृत गर्दै बादलले वर्तमान सरकार पाकिस्तानी मोडलबाट उत्तर कोरियाली मोडलतर्फ अग्रसर भएको जिकिर गरे।
‘पाकिस्तानमा औपचारिक रूपमा संसद् र सरकार भए पनि वास्तविक शासन नैपथ्यबाट अनौपचारिक शक्तिले चलाए जस्तै नेपालमा पनि त्यही अभ्यास भइरहेको छ,’ उनले थपे, ‘अहिले यो सरकार उत्तर कोरियाली मोडलतर्फ अग्रसर देखिन्छ।’
संसद्मा आक्रोशित रूपमा प्रस्तुत भएका नेता बादलले मुलुकको सुरक्षा र कानुन निर्माणको जिम्मेवारी गलत पात्रहरूको हातमा पुगेको आरोप लगाए।
‘जसले ‘डिस्कर्ड’ मार्फत देश जलाउने योजना बनाए, तालिम दिए र खरानी बनाए, आज उनीहरूकै हातमा नागरिक सुरक्षाको कमान्ड छ,’ उनले भने, ‘जसले जेल भत्काए, कैदी भगाए र हतियार लुटे, आज उनीहरूले नै कानुन बनाउने ठेक्का पाएका छन्। योभन्दा ठूलो विडम्बना देशका लागि के हुन सक्छ ?’
लोकतन्त्रका लागि कुनै योगदान नगरेकाहरू आज लोकतन्त्रको मसिहा बनेको टिप्पणी गर्दै उनले इतिहासको स्मरण गराए। ‘जसले लोकतन्त्रका लागि एक थोपा रगत वा आँसु बगाएन, एक रात कालकोठरीमा बिताएन, आज तिनै मसिहा बनेका छन्,’ बादलले भने, ‘यो देश सतीले सरापेको भूमि हो, जहाँ भीम मल्ल र भीमदत्तहरू अनाहक थुनिन्छन् र अकालमा मारिन्छन्। तर इतिहासले सबैको हिसाब राख्नेछ।’
प्रकाशित: ३ भाद्र २०८३ १७:०१ बुधबार





