१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बाबुरामका चार सुझाव: जेन–जी, सरकार र अन्य सरोकारवालालाई के भने?

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगत आन्दोलनका गल्ती कमजोरीबाट सिक्दै जेन–जी विद्रोहलाई ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पु¥याउन विभिन्न चार वटा सुझाव दिएका छन्। शनिबार फेसबुकमार्फत चार वटा बुँदामा उल्लेख गरेरै भट्टराईले सुझाव दिएका हुन्। 

पहिलो सुझावमा उनले सक्कली आन्दोलनकर्ताको पहिचान गर्न भनेका छन्। उनले एक प्रसिद्ध अंग्रेजी उखानको नेपाली रूपान्तरण गरेर ‘सफलताका सय जना पिता हुन्छन्, असफलता टुहुरो हुन्छ’ भन्ने कुरालाई उल्लेख गर्दै ‘नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ–माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’, भनेर लेखेका छन्। 

‘अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ, भन्ने चित्र प्रस्ट भैसकेको छैन,’ भट्टराईले लेखेका छन्, ‘तैपनि अहिले खास गरी जेन–जीका वास्तविक प्रतिनिधि को हुन? यसमा को कसको के के भूमिका रह्यो? आदिबारे केही अन्योल जस्तो देखिनु विडम्बनापूर्ण छ।’ 

यसबारे अन्तरिम सरकार प्रस्ट रहनुपर्ने उनले लेखेका छन्। ‘भदौ २३ गते जेन–जी आन्दोलन सुरु हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ। पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ,’ भट्टराईको सुझाव छ। 

यस्तै पटक पटक सत्तामा रहेर जसका गलत हर्कतले यो युवा विद्रोह सिर्जना गरेको हो, जसले आन्दोलनमा पनि घुसपैठ गराएर सार्वजनिक सम्पत्ति नष्ट गराए,  तिनैमध्ये कोही साखुल्ले बनेर अहिले गोहीको आँसु झार्दैअघि आउँछन् भने तीबाट पनि सतर्क रहनुपर्ने बताएका छन्। 

भट्टराईले अर्को सुझावमा अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभई जेन–जी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको दाबी गर्दै यसले भित्री बाहिरी कुनै शक्तिको डर त्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रस्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्। ‘सत्कर्मको जस इतिहासले अवश्य दिन्छ भन्ने कुरामा ढुक्क रहनुपर्छ,’ उनले लेखेका छन्। 

मुख्य कार्यकारी अंग अन्तरिम सरकारबाहेक राज्यका अरू स्थायी अङ्गहरू  कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंग, संवैधानिक आयोग र प्रदेश तथा स्थानीय सरकारहरूले पनि आफूलाई यो बदलिएको परिवेशमा जेन–जी विद्रोहको दूरगामी महत्त्व र असरलाई आत्मसात् गर्दै कुनै किन्तु परन्तु नगरी सहयोग गर्नुपर्ने बताएका छन्। ‘कथंकदाचित चित्त नबुझे पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुन्छ तर असहयोग र अन्तर ध्वंश गर्नु हुँदैन,’ भट्टराईले लेखेका छन्। 

 ‘लोकतन्त्रमा अर्को महत्त्वपूर्ण तर ओझेलमा पर्दै आएको विषय, विशाल गैर राज्य  क्षेत्रका उद्यमी–व्यवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्छ,’ भट्टराईले चौथो सुझाव दिएका छन्। 

प्रकाशित: २५ आश्विन २०८२ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App