१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बाबुरामलाई बालसखाले सोधे-तपाईँ जस्तो विद्वान मान्छे ओझेल किन?

रवि लामिछानेसँगको भेटेबारे पनि सोधियो जिज्ञासा

पूर्व प्रधानमन्त्री एवं नेसपा(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई पछिल्ला केही दिनयता गृह जिल्ला गोरखाको भ्रमणमा छन्। शनिवार बिहान पुर्ख्यौली घरको बार्दलीमा बसेर किताब पढिरहेको तस्बिर सार्वजनिक गरेका भट्टराई दिउँसो गृह नगर पालुङटारमा पार्टीको प्रशिक्षण तथा विस्तारित बैठकमा सहभागी भएका थिए। 

आइतबार बिहानै भट्टराईको सचिवालयले एक भिडिओ सार्वजनिक गरेको छ। ‘गोरखा र बाबुराम, बालसखाहरूसँगको एउटा मिठो भेटघाट’ क्याप्सनसहित फेसबुकमा राखिएको भिडिओ ३ मिनेट २८ सेकेन्डको छ। 

पिपलको छहारी मुनी स्टिलको प्रतीक्षालयमा १२–१५ जना वृद्धहरू भट्टराईकै प्रतीक्षामा देखिन्छन्। जसमा सुनिएका आवाजले उनीहरू सबै भट्टराईका पुराना चिनजानका व्यक्तिहरू हुन्। 

भिडिओ अघि बढ्दै जाँदा भट्टराई ‘नमस्कार’ गर्दै सबैसँग हात जोड्दै जान्छन्। भिडबाट ‘जम्मै चिनेको हैन त डाक्टर साब?’ भनेर प्रश्न तेर्सिन्छ। 

अर्को स्वरमा सुनिन्छ–कोही विद्यार्थी, कोही साथी ?

त्यसपछि एक जना वृद्धले हात समात्दै आफूछेउमा भट्टराईलाई बसाल्छन्। अनि भन्छन्, ‘उहाँ र म, अनि दाइ यमप्रसाद सँगै कोठामा बसेको, मैले भात पकाएको ।’

हाँस्दै भट्टराई सुनिन्छन्, ‘होइन तीनै जना पालैपालो पकाउँथ्यौँ।’ 

‘होइन धेरै म पकाउँथेँ’, पहिलो व्यक्ति आफ्नो दाबी कसिलो पार्छन्। सबै गलल्ल हाँस्छन्। 

अन्य कोही सुनिन्छ, ‘तपाईँ उपाध्याय पर्नुभयो।’ फेरि हाँसो गुन्जिन्छ। 

‘अनि तीनटा थालाँ म पस्किन्थे भात, बराबर । उहाँ चाहिँ सानो हुनुहुन्थ्यो, यति हुँदैन भनेर झिकेर अलि बढी दिन्थेँ,’ ती वृद्ध पुरानो स्मृति केलाएर भन्छन्। अर्को व्यक्तिले भट्टराई सानो हुँदा साह्रै पातलो भएको कुरा उल्लेख गर्छन्। 

त्यसपछि भट्टराईले ‘गाउँमा भएको भए यति भेट हुँदैनथ्यो’ भनेर थप कुरा अघि बढाउँछन्। 

वृद्धहरूमध्ये एकले भट्टराईले सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई भेटेको कुराबारे जिज्ञासा राख्छन्। ‘अस्ति रविलाई भेट्न जानुभएको रहेछ, फोटोमा आएको थियो,’ ती वृद्ध जिज्ञासा राख्छन्। 

त्यसपछि भट्टराई भन्छन्, ‘म त फेरि सबैलाई हो के, गयो–गयो त्यही पार्टीमा भन्छन् फेरि।’ आफूले पञ्चायत कालदेखि नै राजनीतिक मान्छे जुनसुकै पार्टीको भए पनि भेट्ने गरेको उनी  बताउँछन्। 

‘त्यो किन गयो? गयो त्यसैका पार्टीमा भन्छन्,’ भट्टराई भन्छन्, ‘अब यो उमेरमा आफ्नो पार्टी खोल्या मान्छे, जान्छु त? सद्भाव त राख्नुप¥यो नि।’ भोलि अदालतले जे सुकै फैसला गरे पनि अहिले फैसला नगरेसम्म मानवीय नाताले मात्रै भेट्न गएको उनले बताए। ‘त्यत्ति, त्यही हो, बाँकी केही होइन,’ उनले अगाडि भनेको सुनिन्छ। 

त्यसपछि उपस्थित वृद्धहरूले भट्टराईसँगका आफ्ना पुराना स्मृतिहरू फेरि कोट्याउन थाल्छन्। ‘उहाँले एसएलसी दिएर आएपछि हामीलाई पढाउनुभयो, ६ कक्षामा पढाउनुभा हो, अंग्रेजी,’ एक वृद्ध सुनिन्छन्। ‘मलाई नि पढाउनुभयो,’ अर्कोले थप्छन्। 

त्यसपछि भट्टराईलाई असहज लाग्ने प्रश्न आइलाग्छ । ‘तपाईँजस्तो विद्वान मान्छे अलि ओझेलमा पर्नुभयो के ?,’ प्रश्नको ब्यहोरा सुनिन्छ। यस्तो प्रश्न अकस्मात् तेर्सिँदा उनी एक छिन असहज महसुस गर्छन्। ‘ओझेल.., दुई चार वर्ष कुर्न सबैले ओझेल त बस्नै पर्छ नि,’ त्यसपछि उनी सुनिन्छन्।

त्यत्तिकैमा अर्कोले भन्छन्, ‘राजनीतिमा कति बेला तल माथि हुन्छ भन्न सकिदैन्।’ पुरानो प्रश्नकर्ता थप्छन्, ‘देशको लागि आवश्यक मान्छे त हो नि?’ 

फेरि अर्को पुरानै प्रशंगमा कुराकानी चल्छ । केही बेरमा भट्टराई अन्त जानुपर्ने कार्यक्रम रहेको सुनाउँदै बिदा लिन्छन्। 

प्रकाशित: १ भाद्र २०८२ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App