जनता समाजवादी पार्टी (जसपा) का सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कबाड व्यवसायीमाथि गरेको कारबाहीलाई ‘कायरतापूर्ण हमला’ को संज्ञा दिँदै संसदमा भर्त्सना गरेकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतको आदेशविपरीत मेयर शाहले डोजर आतंक मच्चाएको आरोप लगाइन्।
सांसद यादवले कबाड व्यवसायीमाथि भइरहेको अमानवीय व्यवहार तत्काल नरोकिए व्यवसायी संघले आन्दोलन गर्ने चेतावनी दिएको समेत सदनलाई जानकारी गराइन्।
‘मेयर बालेन शाहको कायरतापूर्ण हमलाबाट अदालतको आदेशविपरीत कवाडीहरुमाथि हमला भएको छ,’ उनले भनिन्, ‘कबाड व्यवसायीमाथि गरिरहेको यस्ता खालका अमानवीय व्यवहार तत्काल नरोके कबाड व्यवसायी संघले पनि कडा चेतावनी तथा आन्दोलन गर्ने घोषणा गरेको छ।’
उनले राजाराम शाहको कबाड पसलमा महानगरले डोजर चलाएर तोडफोड गरेको उल्लेख गर्दै प्रश्न गरिन्, ‘सम्माननीय सभामुख महोदय, गरिब निमुखामाथि हमला कहिलेसम्म ?’
उनले आफ्नो पार्टी जसपाले उक्त घटनाको घोर भर्त्सना गर्ने र गैरकानुनी हमलामा संलग्न अपराधीलाई कारबाही गर्न आग्रह गरिन्।
कृषि मन्त्रीलाई कवितामार्फत व्यङ्ग्य
कबाड व्यवसायीको मुद्दा उठाएलगत्तै सांसद यादवले किसानले मल नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।
कृषि मन्त्री बैठकमा अनुपस्थित रहेको भन्दै उनले सभामुखमार्फत मन्त्रीलाई सुनाउन भन्दै ‘सरकार र मल' शीर्षकमा एक कविता वाचन गरेकी थिइन्।
कवितामार्फत उनले असार बितिसक्दा पनि किसानले मल नपाएको, सरकार बिचौलिया पाल्न व्यस्त रहेको र क्यामेराका लागि मात्र गमलामा धान रोपेर प्रचार गरिएको भन्दै व्यङ्ग्य गरिन्।
प्रकाशित: ३१ असार २०८२ १६:३४ मंगलबार





